एजेन्सी । उपाधि होडमा रहेको आर्सनल इंग्लिस प्रिमियर लिगअन्तर्गत खेलमा वेस्टह्याम युनाइटेडसंग स्तब्ध बनेको छ ।

विहिवार राति भएको खेलमा तुलनात्मक रुपमा बलियो आर्सनल वेस्टह्याम युनाइटेडसंग २–० ले स्तब्ध बनेको हो ।

आर्सनलको घरेलु मैदान इमिरेट्स रंगशालामा भएको खेलमा भ्रमणकारी टोलीका लागि टोमस सौचेक र कोनस्टानटिनोस माभरोपानोसले गोल गरे ।

खेल सुरु भएको १३ औं मिनेटमा जारोर्ड बोवेनको पासमा सौचेकले गोल गर्दै वेस्टह्यामलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि दोस्रो हाफको ५५ औं मिनेटमा जेम्स वार्ड प्रोउसेको असिस्टमा माभरोपानोसले गोल थप्दा भ्रमणकारी टोली २–० ले अघि बढ्यो ।

यता, खेलको अन्त्यतिर वेस्टह्याका सैद बनेराम्हा पेनाल्टीमा चुक्दा अग्रता बढाउने अवसर भने भ्रमणकारी टोलीले चुकायो ।

महत्वपूर्ण जितसंगै वेस्टह्यामले १९ खेलमा ३३ अंक जोड्दै लिग तालिकाको छैटौं स्थानमा रहेको छ ।

पराजित आर्सनलको भने समान १९ खेलमा ४० अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।

हारसंगै आर्सनलको तालिकाको शीर्ष स्थानमा उक्लिने मौका भने गुमेको छ ।

यता, गयराति नै भएको अर्को खेलमा ब्राइटनले टोटनहम हटस्परलाई ४–२ ले पराजित गरेको छ ।

ब्राइटनको घरेलु मैदान अमेक्स रंगशालामा भएको खेलमा ११ औं मिनेटमा ज्याक हिनसेलउडको गोलमार्फत घरेलु टोलीले सुरुवाती अग्रता लियो ।

त्यसपछि २३ औं मिनेटमा जोओ पेड्रोले पेनाल्टीमार्फत गोल थप्दा ब्राइटन २–० ले अघि बढ्यो ।

यता, दोस्रो हाफको ६३ औं मिनेटमा जेम्स मिल्नरको पासमा पेर्भिस इस्टुपिनानको गोलमार्फत घरेलु टोलीले ३–० को आरामदायी अग्रता लियो ।

त्यस्तै, ७५ औं मिनेटमा पेड्रोले पेनाल्टीमार्फत नै गोल थप्दा ब्राइटन ४–० को फराकिलो अग्रतातर्फ लम्कियो ।

तर, ८१ औं मिनेटमा सन ह्युङ मिनको पासमा अलेजो भेलिजले टोटनहमका लागि गोल फर्काउँदा खेल ४–१ को अवस्थामा आयो ।

त्यसपछि ८५ औं मिनेटमा टोटनहमका पेड्रो पोरोको पासमा बेन डाभिसले गोल फर्काउँदा खेल ४–२ ले सकियो ।

महत्वपूर्ण जितसंगै ब्राइटनले १९ खेलमा ३० अंक जोड्दै लिग तालिकाको आठौं स्थानमा उक्लिएको छ ।

पराजित टोटनहमको भने समान खेलमा ३६ अंक रहेको छ ।

टोटनहम तालिकाको छैटौं स्थानमा झरेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.