
एजेन्सी । ब्राजिलले कोनमेबल विश्वकप छनोटअन्तर्गत खेलमा कोलम्बियामाथि प्रतिस्पर्धात्मक जित निकालेको छ ।
शुक्रवार विहान भएको खेलमा ब्राजिलले कोलम्बियामाथि २–१ को प्रतिस्पर्धात्मक जित निकालेको हो ।
ब्राजिलको घरेलु मैदान एरिना बिआरबी माने गारिन्चा रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन राफिन्हा र भिनिसियस जुनियरले गोल गरे ।
पराजित टालीका लागि भने लुइस डाइजले एक गोल फर्काए ।
खेल सुरु भएको छैटौं मिनेटमा राफिन्हाले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
तर, ४१ औं मिनेटमा जेम्सको पासमा डाइजले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
बराबरी उन्मुख खेलमा इन्जुरी समयको नवौं मिनेटमा राफिन्हाको पासमा भिनिसियसले गोल गर्दै ब्राजिललाई २–१ ले जिताए ।
प्रतिस्पर्धात्मक जितसंगै ब्राजिलले १३ खेलबाट २१ अंक जोडेर लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
पराजित कोलम्बियाको समान १३ खेलमा १९ अंकसहित तालिकाको छैटौं स्थानमा झरेको छ ।