एजेन्सी । एसियाली पावरहाउस जापानले एएफसी विश्वकप छनोटअन्तर्गत खेलमा बहराइनमाथि फराकिलो जित निकालेको छ ।
मंगलवार राति भएको एसियाली विश्वकप छनोटअन्तर्गत तेस्रो चरणको खेलमा बलियो जापानले बहराइनमाथि ५–० को फराकिलो जित निकालेको हो ।
बहराइनको घरेलु मैदान स्टाद बहराइन अल वातानी रंगशालामा भएको खेलमा भ्रमणकारी टोली जापानलाई जित दिलाउन अयासे वेडा र हिदेमासा मोरिटाले समान दुई–दुई गोल गर्दा कोकी ओगावाले अर्को एक गोल थपे ।
पहिलो हाफको ३७ औं मिनेटमा वेडाले पेनाल्टीमा गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि दोस्रो हाफको ४७ औं मिनेटमा जुन्या इटोको पासमा वेडाले दोस्रो गोल थप्दा भ्रमणकारी टोली २–० ले अघि बढ्यो ।
त्यस्तै, ६१ औं मिनेटमा वेडाको पासमा मोरिटाले गोल गर्दा जापान ३–० ले अघि बढ्यो ।
त्यसको तीन मिनेटपछि नै कौरु मिटोमाको असिस्टमा मोरिटाले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा जापान ४–० ले अघि बढ्यो ।
यता, ८१ औं मिनेटमा ओगावाले गोल थप्दा जापान ५–० ले विजयी भयो ।
फराकिलो जितसंगै जापानले दुई खेलबाट शतप्रतिशत जितसहित ६ अंक जोडेर समूह ‘सी’ को शीर्ष स्थानमा उक्लेको छ ।
पराजित बहराइनको भने समान दुई खेलमा एकमा जित र एकमा हारसहित तीन अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ ।