
एजेन्सी । ब्राजिलले कोनमेबोल विश्वकप छनोट खेलमा पेरुमाथि फराकिलो जित निकालेको छ ।
बुधवार भएको खेलमा बलियो ब्राजिलले पेरुमाथि ४–० को फराकिलो जित निकालेको हो ।
ब्राजिलको घरेलु मैदान एरिना बिअरबी माने गारिन्चा रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन राफिन्हाले दुई गोल गर्दा एन्ड्रेस परेरा र लुइज हेनरिकले एक–एक गोल गरे ।
पहिलो हाफको ३८ औं मिनेटमा राफिन्हाले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि दोस्रो हाफको ५४ औं मिनेटमा पुनः राफिन्हाले पेनाल्टीमा गोल थप्दा ब्राजिल २–० ले अघि बढ्यो ।
यता, ७१ औं मिनेटमा हेनरिकको पासमा परेराले गोल गर्दा ब्राजिल ३–० ले अघि बढ्यो ।
त्यसको तीन मिनेटपछि नै इगोर जेससको पासमा हेनरिकले गोल गर्दै ब्राजिललाई ४–० ले जिताए ।
फराकिलो जितसंगै ब्राजिलले १० खेलमा १६ अंक जोडेर छनोट तालिकाको चौथौं स्थानमा रहेको छ ।
पराजित पेरुको भने समान १० खेलमा ६ अंकसहित तालिकाको नवौं स्थानमा रहेको छ ।