एजेन्सी । जापानले एएफसी एसियन क्वालिफायर रोड टु २६ अन्तर्गत खेलमा चीनलाई पराजित गरेको छ ।
मंगलवार साँझ भएको एसियाली विश्वकप छनोट खेलमा एसियाली पावर हाउस जापानले छिमेकी राष्ट्र चीनलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।
चीनको घरेलु मैदान छियानमिन इग्रेट रंगशालामा भएको खेलमा बलियो भ्रमणकारी टोलीलाई जिताउन कोकी ओगावाले दुई गोल गर्दा को इटाकुराले एक गोल थपे ।
पराजित घरेलु टोलीका लागि लियाङमिङ लिनले सान्तोना गोल फर्काए ।
पहिलो हाफको ३९ औं मिनेटमा ताकेफुसा कुबोको पासमा ओगावाले गोल गर्दै भ्रमणकारी टोलीले सुरुवाती अग्रता लिए ।
त्यस्तै, पहिलो हाफको इन्जुरी समयको छैटौं मिनेटमा कोकी माचिदाको पासमा इटाकुराले गोल थप्दा जापान २–० ले अघि बढ्यो ।
तर, दोस्रो हाफको सुरुतिरै ४८ औं मिनेटमा वाइ शिहाओको पासमा लिनले चीनका लागि गोल फर्काउँदा खेल २–१ को अवस्थामा आयो ।
यता, ५४ औं मिनेटमा जुन्या इटोको पासमा ओगावाले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा जापान ३–१ ले विजयी भयो ।
विश्वकप छनोटअन्तर्गत तेस्रो चरणको खेलमा सहज जितसंगै जापानले समूह ‘सी’ बाट ६ खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा कायम भएको छ ।
पराजित चीनको भने समान ६ खेलमा ६ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ ।