एजेन्सी । दक्षिण कोरियाले एएफसी विश्वकप छनोटअन्तर्गत खेलमा ओमानमाथि सहज जित निकालेको छ ।
मंगलवार राति भएको एसियाली छनोटअन्तर्गत तेस्रो चरणको खेलमा बलियो दक्षिणको कोरियाले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी ओमानमाथि ३–१ को सहज जित निकालेको हो ।
ओमानको घरेलु मैदान सुल्टान क्वाबुस स्पोर्ट कम्प्लेक्स रंगशालामा भएको खेलमा भ्रमणकारी टोलीलाई जिताउन कप्तान सन ह्युङ मिन, ह्वाङ हि चान र जो मिन क्युले गोल गरे ।
पराजित घरेलु टोलीका लागि भने कोरियाका सेउङ्ग ह्युन जुङले आत्मघाती गोल उपहार दिए ।
खेल सुरु भएको १० औं मिनेटमा सनको पासमा ह्वाङले गोल गर्दै कोरियालाई सुरुवाती अग्रता दिलाए ।
तर, पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा सेउङ्गले आत्मघाती गोल गर्न पुग्दा ओमान खेलमा फर्कियो ।
त्यसपछि दोस्रो हाफको ८२ औं मिनेटमा लि काङ इनको पासमा सनले गोल गर्दा कोरिया खेलमा २–१ ले अघि बढ्यो ।
यता, खेलको इन्जुरी समयको ११ औं मिनेटमा सनकै पासमा जोले गोल थप्दा कोरिया ३–१ ले विजयी भयो ।
सहज जितसंगै कोरियाले समूह ‘बी’ दुई खेलबाट चार अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
पराजित ओमानको भने अहिलेसम्म खेलेको दुबै खेलमा हार बेहोर्दै शुन्य अंकका साथ तालिकाको पुच्छारमा रहेको छ ।