
भक्तपुर । कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनल पुग्ने आठवटै राष्ट्रको टुंगो लागेको छ ।
मंगलबार राति सम्पन्न दुई खेलसँगै अन्तिम आठमा पुग्ने सबै टोलीको टुंगो लागेको हो ।
एसिया महादेशमा दोस्रो पटक भइरहेको फुटबलको महाकुम्भमा युरोपका पाँच, दक्षिण अमिेरिकाका दुई र अफ्रिका महादेशबाट एक राष्ट्रले क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
युरोपबाट साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, र पोर्चुगलले अन्तिम आठमा स्थान बनाएका छन् ।
त्यस्तै, दक्षिण अमेरिकाबाट उपाधि दाबेदारद्वय ब्राजिल र अर्जेन्टिनाले प्रतियोगिताको अन्तिम आठ सुरक्षित गर्दा अफ्रिकाबाट भने मोरक्कोले क्वाटरफाइनलमा स्थान बनायो । तर, एसियाली भुमीमै योपल्ट एसियाली राष्ट्रहरु भने अन्तिम ८ मा प्रवेश गर्न सकेन ।
क्वाटरफाइनल खेलहरु शुक्रवारबाट सुरु हुनेछ । क्वाटरफाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । इड्युकेशन सिटी रंगशालामा हुने सो खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ ।
त्यस्तै, सोहि दिनको दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स लुसाइल आइकोनिक रंगशालामा राति पौने १ बजे आमनेसामने हुनेछन् ।
यता सनिवार पनि दुई खेल हुनेछन् । सनिवारको पहिलो क्वाटरफाइनल खेलमा कमेरक्को र पोर्चुगल आमनेसामने हुनेछन् ।
क्रिस्चियानो रोनाल्डोको पोर्चुगलले अफ्रिकी राष्ट्र मोरक्कोसंग अल थुमामा रंगशालामा राति पौने ९ बजे खेल्नेछ ।
यता प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा साविक विजेता फ्रान्स र उपाधि दाबेदार राष्ट्र इंग्ल्याण्डसंग राति पौने १ बजे अल ब्याट रंगशालामा प्रतिस्पर्धा गर्नेछ ।
क्वाटरफाइनलमा विजयी चार राष्ट्रले सेमिफाइनलमा स्थान बनाउँनेछ ।