भक्तपुर । काठमाडौंमा जारी नेपाल टि–२० को दोस्रो क्वालिफायर खेलमा जनकपुर रोयल्समाथि ३९ रनको जित हात पार्दै विराटनगर सुपर किंग्स फाइनलमा प्रवेश गरेको छ ।
मंगलवार भएको खेलमा १६८ रनको विजयी लक्ष्य पछ्याएको जनकपुर १९.१ रनमा अलआउट हुँदै १२८ रनमा समेटिदा विराटनगर पहिलो संस्करणको नेपाल टि–२० को फाइनलमा प्रवेश गरेको हो ।
यसअघि क्रितिपुरस्थित टियू क्रिकेट मैदानमा विराटनगरले दिएको १६८ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरका लागि चाडविक वाल्टनले ४७ बल खेल्दै सर्वाधिक ५१ रन बनाए ।
त्यस्तै, कप्तान त्रिभोन ग्रिफ्टले ३४ रनको योगदान दिँदा खडक बोहराले १४ बलमा १४ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
सन्दिप जोराले ९, सोमपाल कामी र शराफदिन असरफले समान ४ रन जोड्दै आउट हुँदा पवन सरनफ र राजेश पुलामीले २–२ रन बनाउँदै आउट भए ।
यता, विराटनगरका लागि केइअन जोसेपले ३ विकेट लिए । त्यस्तै, नन्दन यादव र राज ननानले २–२ विकेट लिँदा हुसेन तलात र सुर्य तामाङले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको थियो ।
विराटनगरका लागि गौरान्सु शर्माले ४१ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४२ रन बनाए । त्यस्तै, अर्जुन साउदले २६ बल खेल्दै ३५ रन जोड्दा राज ननानले १८ बलमा ३३ रन र हुसेन तालतले २१ बलमा ३१ रन जोडे ।
यता, अमरसिंह रटेउलाले अविजित रहँदै ६ रन बनाउँदा विवेक यादव ६, पृथु बास्कोटा २ र कप्तान रोहित पौडेल १ रनमा पेविलियन फर्किए ।
जनकपुरका लागि जितेन्द्र मुखियाले सर्वाधिक २ विकेट लिए । त्यस्तै, शराफुदिन असरफ, ललितनारायण राजवंशी र समिउल्लाह सिनवारीले समान १–१ विकेट लिए ।
नेपाली क्रिकेटको पहिलो फ्रेन्चाइज लिगको फाइनल खेलमा बुधवार विराटनगरले लुम्बिनी अलस्टार्ससंग सामना गर्नेछ ।