![469039358_122128469930455690_8489325911974345054_n](https://i0.wp.com/www.kheldabali.com/wp-content/uploads/2024/12/469039358_122128469930455690_8489325911974345054_n.jpg?resize=696%2C391&ssl=1)
भक्तपुर । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले सहज जित निकालेको छ ।
मंगलवार विहान भएको खेलमा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्समाथि ९० रनको सहज जित निकालेको हो ।
जितसंगै सुदुरपश्चिमले पहिलो खेलबाट २ अंक जोडेको छ ।
विराटनगरले भने २ खेल खेलिसक्दा अंकको खाता खोल्न सकेको छैन ।
क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा १८३ रनको विशाल विजयी लक्ष्य पछ्याएको विराटनगर १६.१ ओभरमा अलआउट हुँदा मात्र ९२ रनमा समेतियो ।
विराटनगरका लागि बसिर अहमदले २८ बलमा २ चौका प्रहार गर्दै २४ रन जोडेर आउट हुँदा राजेश पुलामीले १५ बल खेल्नेक्रममा १ छक्का प्रहार गर्दै १५ रन जोडेर रनआउट भए ।
त्यस्तै, अनिल खरेलले ११ बलमा १ चौका प्रहार गर्दै १० रन जोडेर अविजित रहँदा क्रिस सोल ९, कप्तान सन्दिप लामिछाने ८, इस्मत आलाम ६, निकोलास क्रिटन र दिपक बोहरा ५–५, लोकेश बम २, प्रतिश जिशी १ र मार्टिन गप्टिल शुन्य रनमा पेविलियन फर्किए ।
विराटनगरले अतिरिक्त रुपमा ७ रन जोड्यो ।
विराटनगरलाई सस्तैमा अलआउट गर्दै सानदार जित निकाल्न सुदुरपश्चिमका लागि अविनाश बोहराले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ३ विकेट लिँदा स्कट कुगेलेन्जले ४ ओभर बलिङ गर्नेक्रममा ३० रन दिएर ३ विकेट लिए ।
त्यस्तै, ब्रान्डन म्याकमुलेन, सैफ जैब र इशान पाण्डेले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको सुदुरपश्चिम रोयल्सले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १८२ रन जोड्यो ।
जारी सिजनमा हालसम्मको सर्वाधिक रन बनाउने क्रममा सुदुरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले २४ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ५७ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा ब्रान्डन म्याकमुलेनले २६ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरेर ३६ रन जोड्दै पेविलियन फर्किए ।
त्यस्तै, ओपनर ब्याट्सम्यान बिनोद भण्डारीले २० बलमा ४ चौका प्रहार गर्दै २३ रन जोडेर आउट हुँदा इशान पाण्डेले १६ बल खेल्नेक्रममा २ चौका र १ छक्का प्रहार गर्दै २१ रन जोडेर रनआउट भए ।
यता, सैफ जैबले १५ बलमा १ छक्का प्रहार गर्दै १४ रन जोडेर आउट हुँदा स्कट कुगेलेन्जले ६ बल खेल्नेक्रममा २ चौका प्रहार गरेर १० रन जोड्दै पेविलियन फर्किए ।
बसन्त खत्री ४ रनमा अविजित रहँदा आरिफ शेख ९ र अर्का ओपनर अमित श्रेष्ठ १ रनमा पेविलियन फर्किए ।
सुदुरपश्चिमले अतिरिक्त रुपमा ७ रन जोड्यो ।
विराटनगरका लागि प्रतिश जिसीले ४ ओभरमा ४३ रन खर्चिदै २ विकेट लिँदा क्रिस सोलले ४ ओभर बलिङ गर्दै ३७ रन दिएर २ विकेट लिए ।
त्यस्तै, अनिल खरेल र इस्मत आलमले समान १–१ विकेट लिए ।