भक्तपुर । नेपाल टि–२० क्रिकेट लिगअन्तर्गत दोस्रो दिनको पहिलो खेलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किंग्समाथि रोमाञ्चक ३ रनको जित हात पारेको छ ।
आइतवार अन्तिम बलमा जितका लागि आवश्यक ४ रन जोड्न नसक्दा विराटनगर लुम्बिनीसंग पराजित भएको हो ।
क्यानको आयोजनामा भइरहेको टि–२० फ्रेन्चाइज प्रतियोगितामा लुम्बिनीको यो लगातार दोस्रो जित हो ।
लुम्बिनीले दिएको १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सक्यो ।
विराटनगरका लागि हुसेन तलातले सर्वाधिक ३९ रनको योगदान गरे । रोहित कुमार पौडेलले २५ रनको योगदान गर्दा सिकन्दर राजाले १७ रनमात्र जोड्न सक्यो ।
यता, अर्जुन साउद १० रन जोड्दै आउट हुँदा पृथु बास्कोटाले १८ रन जोडे ।
लुम्बिनीका लागि किशोर महतोले २ विकेट लिए भने सागर ढकाल, गुलसन झा, दिपेन्द्र सिहं ऐरी र प्याट ब्रोनले समान १–१ विकेट लिए ।
यसअघि काठमाडौंस्थित टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको लुम्बिनीका लागि लाहिरु मिलान्थाको उत्कृष्ट प्रदर्शनमा विराटनगर सुपर किंग्सलाई १ सय ५८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको थियो ।
लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । लाहिरु मिलान्थाले ६३ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ८० रन बनाउँदै अविजित रहे ।
मिलान्थाले पहिलो खेलमा फार वेस्ट युनाइटेडविरुद्ध पनि ६० रनको अर्धशतकिय इनिङ्स खेलेका थिए ।
त्यस्तै, कुशल भुर्तेल २६ रन बनाएर आउट भए । दीपेन्द्रसिंह ऐरीले १६ रन जोड्दा विपुल शर्माले ११ रन जोडे । गुलशन झा ४ रनमै समेटिदा अनिल ६ रनमा आउट भए । उन्मुक्त चन्द आजको खेलमा पनि २ रनमात्र बनाए ।
विराटनगरका नन्दन यादव, हुसन तालत, शाहब आलम, सिकन्दर राजा र आन्द्रे म्याकार्थीले समान एक–एक विकेट लिए ।
यसअघि लुम्बिनीले प्रतियोगिताको पहिलो खेलमा फार वेस्ट युनाइटेडलाई ६७ रनले हराएको थियो ।