भक्तपुर । काठमाडौंमा जारी नेपाल टि–२० क्रिकेट लिगको २१ औं खेलमा काठमाडौं नाइट्सले विराटनगर सुपर किग्संमाथि जित हात पारेको छ ।
मंगलवार क्रितिपुरस्थित टियू क्रिकेट मैदानमा निर्धारित समयभन्दा लगभग २ घण्टा ढिला गरि सुरु भएको खेलमा काठमाडौंले विराटनगरमाथि ३४ रनको जित हात पारेको हो ।
जितका लागि काठमाडौंले प्रस्तुत गरेको ९३ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ९ ओभरको खेलमा एक बल अगावै अलआउट हुँदै मात्र ५८ रन बनाउन सक्यो ।
विराटनगरका लागि गौरान्सु शर्माले सर्वाधिक २२ रन जोडे । त्यस्तै, विवेक यादवले ११ रन जोड्दा नन्दन यादवले अविजित रहँदै ११ रन जोडे ।
यता, हुसेन तलात ९ रनमा आउट हुँदा कप्तान रोहित पौडेल २ रन र अर्जुन साउदले १ रन बनाए । राज रक्की ननान, प्रदिप सिंह ऐरी, रिजन ढकाल र केइअन जोसेपले रनको खाता नै खोल्न सकेनन् । विराटनगरले अतिरिक्त १ रन पायो ।
काठमाडौंका लागि कमल सिंह ऐरीले ३ विकेट लिए । त्यस्तै, अनिल खरेल र सुनाम गौतमले २–२ विकेट लिए । यता, बसिर अहम्मद र अभिनाश बोहराले १–१ विकेट लिए ।
यसअघि टस जित्दै पहिला ब्याटिङमा आएको काठमाडौंले पुरा ९ ओभर खेल्दै ५ विकेटको क्षतिमा ९२ रन बनाएको थियो ।
काठमाडौंका लागि सन्दिप रिजालले अविजित रहँदै सर्वाधिक ३२ रन जोडे । त्यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले १४ रन बनाउँदा कमल सिंह ऐरीले पनि अविजित रहँदै १४ रनको योगदान गरे ।
यता, एलेक्स बाल्केले १३, विरनदिप सिंहले ५ तथा लोकेश बमले १ रन जोड्दै आउट भए । सुनाम गौतमले भने रनको खाता खोल्न सकेनन् । काठमाडौंले अतिरिक्त रुपमा १३ रन पाएको थियो ।
विराटनगरका लागि नन्दन यादवले ३ विकेट लिए । त्यस्तै, हुसेन तलात र केइअन जोसेपले १–१ विकेट लिए ।
त्यसअघि खेलाडीहरुले सम्झौता अनुरुप पारिश्रमिक नपाएको भन्दै खेल खेल्न नमान्दा नेपाल टि–२० को २१ औं खेल निर्धारित समयमा हुन सकेन ।
सम्झौता अनुसार लिग सुरु हुनुअघि ४० प्रतिशत पाउनुपर्ने र लिग चलिरहँदा ६० प्रतिशत पाउने सहमति भएपनि खेलाडीले पैसा नपाएको भन्दै खेल्न तयार भएन ।
त्यसपछि टियू एन्डतर्फ दुबै टिमका खेलाडी, नेपाल टि–२० गर्भनिङ काउन्सिलका अध्यक्ष प्रशान्त विक्रम मल्ल, लिगका निर्देशक तथा क्यानका महाप्रबन्धक वृतान्त खनाल, क्यानका क्रिकेट म्यानेजर विनोद दास, कोषाअध्यक्ष रोशनसिंह, म्याचअफिसल लगायतहरुको बैठकपछि खेल हुने निर्णय भएको थियो ।
निर्धारित समयभन्दा लगभग २ घण्टा ढिला गरि सुरु भएको खेललाई २० ओभरबाट ९ ओभरमा छोट्याइएको थियो ।
दोस्रो खेल केहिबेरमा (दिउँसो १ बजे) जनकपुर रोयल्स र लुम्बिनी अलस्टार्सबीच हुँदैछ ।