भक्तपुर । नेपाल ८ औं संस्करणको वाफ महिला च्याम्पियनसिपमा उपविजेतामै सिमित भएको छ ।
विहिवार राति भएको फाइनल खेलमा नेपाल साविक विजेता समेत रहेको जोर्डनसंग ट्राइब्रेकरमा ५–३ ले पराजित भएसंगै उपविजेतामै सिमित भएको हो ।
निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएसंगै खेलको निर्णय ट्राइब्रेकरबाट लिइयो ।
नेपालका लागि गिता राणा, दिपा शाही र हिरा भुजेलले ट्राइब्रेकरमा गोल गर्दा अनिता अम्रिता जैसीको प्रहार चुक्न पुगिन् ।
उता, जोर्डनका लागि आयाह अल माजाली, मायसा जबराह, नुर जक्वास, साराह अबु सब्बाह र रुजबाहन फ्रैजले पेनाल्टीमा गोल गरिन् ।
त्यसअघि साउदी अरबियाको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैसल स्पोर्ट्स सिटी रंगशालामा भएको खेलमा नेपालले सुरुवाती अग्रता लियो ।
पहिलो हाफको २९ औं मिनेटमा सविता राणामगरले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।
तर, दोस्रो हाफको ७४ औं मिनेटमा जोर्डनकी लाना फेरासले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसपछि ८९ औं मिनेटमा साराह अबु सब्बाहले गोल गर्दै जोर्डनलाई २–१ ले अघि बढाए ।
यता, निर्धारित ९० मिनेटपछि थपिएको इन्जुरी समयको तेस्रो मिनेटमा गिता राणाले पेनाल्टीमा गोल फर्काउँदै खेललाई २–२ को बराबरीमा ल्याए ।
नेपालमाथि जितसंगै जोर्डनले सर्वाधिक छैटौं पटक वाफ महिला च्याम्पियनसिपको उपाधि उचालेको छ ।