भक्तपुर । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्समाथि कर्णाली याक्सले रोमाञ्चक जित निकालेको छ ।
सनिवार दिउँसो भएको लो स्कोरिङ खेलमा विराटनगर किंग्समाथि कर्णाली याक्सले ७ रनको रोमाञ्चक जित निकालेको हो ।
महत्वपूर्ण जितसंगै कर्णालीले ४ खेलबाट ४ नै अंक जोड्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
पराजित विराटनगरको भने समान ४ खेलमा २ अंकसहित तालिकाको सातौं स्थानमा रहेको छ ।
विराटनगरका लागि निकोलास क्रिटनले ३९ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४० रन जोडेर आउट हुँदा ओपनर ब्याट्सम्यान लोकेश बमले ९ बल खेल्नेक्रममा १ चौका र २ छक्का प्रहार गर्दै १९ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, दिपक बोहराले १३ बलमा १ छक्का प्रहार गर्दै १८ रन जोड्दा अकिब इलियास र बसिर अहमद ८–८, नरेन भट्ट ७ र मार्टिन गप्टिल ४ रनमा पेविलियन फर्किए ।
यता, कप्तान सन्दिप लामिछाने ६ र प्रतिश जिसी ७ रनमा अविजित रहँदा क्रिस सोल भने शुन्य रनमा पेविलियन फर्किए ।
विराटनगरले अतिरिक्त रुपमा ९ रन जोड्यो ।
कर्णालीलाई जिताउन नन्दन यादवले ३ विकेट लिँदा बिपिन शर्माले २, कप्तान सोमपाल कामी, विलियम बोसिस्टो र युनिश ठकुरीले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको कर्णाली याक्सले निर्धारित २० ओभरको खेलको अन्तिम बलमा अलआउट हुँदै १३३ रन जोड्यो ।
कर्णालीका लागि विलियम बोसिस्टोले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६६ रनको अर्धशतकिय पारी खेल्दा ओपनर ब्याट्सम्यान देव खनालले ४८ बल खेल्नेक्रममा ४ चौका र २ छक्का प्रहार गर्दै ५३ रनको अर्धशतकिय पारी खेलेर पेविलियन फर्किए ।
त्यसपछि कर्णालीका अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
चर्चित भारतिय ब्याटर शिखर धवन ५ रनमा आउट हुँदा जिशान मकसुद २, चादविक वाल्टन र अर्जुन घर्ती समान १–१ रन जोडेर पेविलियन फर्किए ।
यता, कर्णालीका अन्य ५ ब्याटरले अंकको खाता नै खोल्न सकेनन् ।
कर्णालीले अतिरिक्त रुपमा ५ रन जोड्यो ।
कर्णालीलाई सस्तैमा समेत्न विराटनगरका लागि प्रतिश जिसीले ४ ओभर बलिङ गर्दै १ मेडनसहित १७ रन दिएर सर्वाधिक ४ विकेट लिँदा क्रिस सोल र बसिर अहमदले २–२ विकेट लिए ।
त्यस्तै, अकिब इलियासले पनि १ विकेट लिए ।