एजेन्सी । बायर लेभरकुसेनमाथि जित हासिल गर्दै एटलान्टाले युरोपेली क्लब फुटबलको दोस्रो श्रेणीको प्रतियोगिता युईएफए युरोपा लिगको उपाधि जितेको छ ।
बुधवार राति भएको फाइनल खेलमा इटालियन क्लब एटलान्टाले जर्मन लिग च्याम्पियन बायर लेभरकुसेनमाथि ३–० को जित निकाल्दै युरोपा लिगको उपाधि जितेको हो ।
आयरल्याण्डको डुब्लिनस्थित अभिभा रंगशालामा भएको उपाधि भिडन्त खेलमा इटालियन क्लबलाई जिताउन अडेमोला लुकम्यानले ह्याट्रिक पूरा गरे ।
खेल सुरु भएको १२ औं मिनेटमा डेभिड जाप्पाकोस्टाको पासमा लुकम्यानले गोल गर्दै इटालियन क्लबलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि २६ औं मिनेटमा लुकम्यानले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा सिरी ए क्लब २–० ले अघि बढ्यो ।
यता, दोस्रो हाफको ७५ औं मिनेटमा जियान्लुका स्कामाक्काको पासमा लुकम्यानले ह्याट्रिक पूरा गर्दा एटलान्टाले खेल ३–० ले जित्यो ।
इटालियन एटलान्टाले क्लबको इतिहासमा दोस्रो ठूलो उपाधि जित्नेक्रममा ६ दशकपछि पहिलोपल्ट उपाधि जित्न सफल रह्यो ।
एटलान्टाको यो पहिलो युरोपा लिगको उपाधि समेत हो ।
यता, जारी सिजन ५१ खेलसम्म अपराजित रहेको लेभरकुसेनले सिजनमा पहिलो हार बेहोर्दा युरोपाको उपाधि गुमाउन पुग्यो ।