भक्तपुर । काठमाडौंमा जारी नेपाल टि–२० क्रिकेट लिगअन्तर्गत क्वालिफायर खेलमा जनकपुर रोयल्समाथि ६ रनको जित हात पार्दै लुम्बिनी अलस्टार्स फाइनलमा प्रवेश गरेको छ ।
पराजित जनकपुरले भने फाइनल प्रवेशका लागि इलिमिनेटर खेलमा जित हात पार्ने टोलीको सामना गर्ने भएको छ ।
आइतवार क्रितिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १४४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा १३७ रनमा समेटियो ।
जनकपुर रोयल्सका लागि सामिउल्लाह शिनवारीले ३१ बलमा सर्वाधिक ४५ रन बनाए । त्यस्तै, पवन सराफले अविजित रहँदै १९ बलमा ३० रन जोडे ।
शराफुदिन असरफ १९ बलमा २४ रन बनाउँदै आउट हुँदा राजेश पुलामी १३, तथा कप्तान त्रिभोन ग्रिफ्ट १० रनमा आउट भए ।
जनकपुरका लागि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । जनकपुरले अतिरिक्त रुपमा ४ रन पायो ।
लुम्बिनीका लागि कप्तान दिपेन्द्र सिंह ऐरी, बिपुल शर्मा र सागर ढकालले २–२ समान विकेट लिए । साड्ले भान स्चासल्वकको नाममा १ विकेट रह्यो । बिपुल शर्मा खेलको प्लेयर अफ द म्याच घोषित भए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १४३ रन बनाएको थियो ।
लुम्बिनीका लागि इसान पाण्डेले ३९ बल खेल्दै सार्वाधिक ३८ रनको योगदान गरे । त्यस्तै, अनिल साहले २६ बलमा २४ रन जोडे । विपुल शर्माले १३ बलमा २० रन बनाउँदा साड्ले भान स्चल्विकले ८ बलमा १७ रन जोडे ।
यता, विकेट किपर समेत रहेका लाहिरु मिलान्थाले १६ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले १० र कुशल भुर्तेलले ३ रन बनाए । हर्मिन सिंह पहिलो बलमै शुन्यमा आउट भए । लुम्बिनीले १७ रन अतिरिक्त रुपमा पाएको थियो ।
जनकपुरका लागि सोमपाल कामी, आशान प्रियारन्जन र जितेन्द्र मुखियाले २–२ विकेट लिए । त्यस्तै, कप्तान त्रिभोन ग्रिफ्ट र पवन सराफले १–१ विकेट लिए ।
लिगअन्तर्गत भोली (सोमवार) विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सबीच प्रतिस्पर्धा हुनेछ ।