भक्तपुर । सुदुरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्समाथि सहज जित निकालेको छ ।

सनिवार विहान भएको खेलमा सुदुरपश्चिम रोयल्सले लुम्बिनी लायन्समाथि ४५ रनको सहज जित निकालेको हो ।

जितसंगै सुदुरपश्चिमले ३ खेलबाट ६ अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

पराजित लुम्बिनीको भने यो लगातार तेस्रो हार हो ।

लुम्बिनी तालिकाको पुच्छारमा झरेको छ ।

काठमाडौंको क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा १८८ रनको विशाल विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै मात्र १४२ रन जोड्न सक्यो ।

एक समय धराशायी बनेको लुम्बिनीको ब्याटिङलाई विवेक यादवले सम्मानजनक अवस्थामा ल्याए ।

विवेकले ५४ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै ७७ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा सुन्दिप जोराले २६ बल खेल्नेक्रममा १ छक्का प्रहार गर्दै २० रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, दिनेश अधिकारीले १६ बलमा २ चौका प्रहार गरेर १४ रन जोड्दै आउट हुँदा सुर्य तामाङ र छम मोरेस ७–७, कप्तान रोहित पौडेल ५ तथा उन्मुक्त चन्द ४ रनमा पेविलियन फर्किए ।

लुम्बिनीका अन्य ४ ब्याटरले अंकको खाता नै खोल्न सकेनन् ।

लुम्बिनीले अतिरिक्त रुपमा ८ रन जोड्यो ।

लुम्बिनीको ब्याटिङ अर्डरलाई धराशायी पार्न ब्रान्डन म्याक मुलेन र सैफ जैबले समान ३–३ विकेट लिँदा स्कट कगेलैनले २ तथा अबिनाश बोहराले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको सुदुरपश्चिमले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै १८७ रन जोड्यो ।

सुदुरपश्चिमका लागि ओपनर ब्याट्सम्यान सैफ जैफले ६१ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ९० रन जोड्दा कप्तान दिपेन्द्र सिंह ऐरीले १९ बल खेल्नेक्रममा ४ चौका र २ छक्का प्रहार गर्दै ३९ रन जोडेर अविजित रहे ।

त्यस्तै, ब्रान्डन म्याकमुलेनले २० बलमा १ चौका र १ छक्का प्रहार गर्दै २३ रन जोडेर आउट हुँदा अर्का ओपनर बिनोद भण्डारीले १३ बल खेल्दै २ चौका प्रहार गरेर १७ रन जोड्दै पेविलियन फर्किए ।

यता, स्कट कुगेललिन ११ रनमा अविजित रहँदा आरिफ शेख भने शुन्य रनमा पेविलियन फर्किए ।

सुदुरपश्चिमले अतिरिक्त रुपमा ७ रन जोड्यो ।

लुम्बिनीका लागि रमन सिमोन्ड्सले २ विकेट लिँदा रोहित पौडेल र विवेक यादवले १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.