भक्तपुर । काठमाडौंमा जारी नेपाल टि–२० क्रिकेट लिगको २२ औं खेलमा लुम्बिनी अल स्टार्सले जनकपुर रोयल्समाथि रोमाञ्चक जित हात पारेको छ ।
मंगलवार क्रितिपुरस्थित टियू क्रिकेट मैदानमा भएको दोस्रो खेलमा लुम्बिनीले ५ रनको रोमाञ्चक जित निकालेको हो ।
लुम्बिनीले दिएको १७९ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ५ विकेटको क्षतिमा मात्र १७३ रन जोड्न सक्यो ।
जनकपुरका लागि चान्विक वाल्टनले अविजित रहँदै ५९ रनको अर्धशतकिय पारी खेले । शराफुदिन अशरफ, सन्दिप जोरा र त्रिभोन ग्रिफ्टले समान २६–२६ रनको योगदान गरे । जनकपुरले ११ रन अतिरिक्त रुपमा पाएको थियो ।
यता, लुम्बिनीका लागि ह्यारी तेक्टर र विपुल शर्माले २–२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १७८ रन बनाएको थियो ।
लुम्बिनीका लागि हर्मित सिंहले सर्वाधिक ७३ रनको योगदान गरे । त्यस्तै, लाहिरु मिलान्थाले ३३ रन बनाउँदा कुशल भुर्तेलले १७ रन बनाए ।
ह्यारी तेक्टर १८ रनमा अविजित रहँदा अनिल साह पनि १० रनमा अविजित रहे । यता, दिपेन्द्र सिंह ऐरीले १४ रन बनाउँदै आउट हुँदा गुल्शन झा ८ रनमा आउट भए ।
बिपुल शर्माले भने कुनैपनि रन जोड्न सकेनन् । लुम्बिनीले ५ रन अतिरिक्त रुपमा पाएको थियो ।
जनकपुरका लागि शराफुदिन अशरफले ३ विकेट लिए । त्यस्तै, जितेन्द्र मूखिया, समिउल्लाह शिनवारी र ललित राजवंशीले समान १–१ विकेट लिए ।
खेलको प्लेयर अफ द म्याच लुम्बिनीका हर्मित सिंह घोषित भए ।