
एजेन्सी । लिग लिडर लिभरपूलले इंग्लिस प्रिमियर लिगअन्तर्गत खेलमा लुटन टाउनमाथि फराकिलो जित निकालेको छ ।
बुधवार राति भएको खेलमा उपाधि होडमा रहेको लिभरपूलले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी लुटन टाउनमाथि ४–१ को फराकिलो जित निकालेको हो ।
मर्सिसाइड क्लबको घरेलु मैदान एन्डफिल्ड रंगशालामा भएको खेलमा घरेलु टोलीको जितमा भिर्गिल भान डाइक, कोडी गाक्पो, लुइस डाइज र हार्भे इलियोटले गोल गरे ।
पराजित भ्रमणकारी टोलीका लागि भने चिदोजीइ ओग्बेनेले गरेको गोल सान्तोना गोलमा परिणत भयो ।
खेल सुरु भएको १२ औं मिनेटमा ओग्बेनेको गोलमार्फत् लुटन टाउनले सुरुवाती अग्रता लियो ।
तर, दोसो हाफको ५६ औं मिनेटमा एलेक्स क्याक अलिस्टारको पासमा भान डाइकले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसको दुई मिनेटपछि नै म्याक अलिस्टारकै असिस्टमा गाक्पोले गोल थप्दा लिभरपूल २–१ ले अघि बढ्यो ।
त्यस्तै, ७१ औं मिनेटमा एन्ड्रेयु रोर्बटसनको पासमा डाइजले गोल गर्दा मर्सिसाइड क्लब ३–१ ले अघि बढ्यो ।
खेलको अन्त्यतिर ९० औं मिनेटमा इलियोटले गोल थप्दा लिभरपूल ४–१ ले विजयी भयो ।
फराकिलो जितसंगै लिग लिडर लिभपूलले २६ खेलबाट ६० अंक जोडेको छ ।
पराजित लुटन टाउनको भने २५ खेलमा २० अंकसहित तालिकाको १८ औं स्थानमा रहेको छ ।