एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत १९ औं चरणको खेलमा बलियो मानिएको लिभरपूल ब्रेन्टफोर्डसंग पराजित भएको छ ।
सोमवार राति भएको खेलमा लिभरपूल घरेलु टोली ब्रेन्टफोर्डसंग ३–१ गोलअन्तरले पराजित भएको हो ।
जोर्गेन क्लोपको टोलीलाई स्तब्ध पार्न ब्रेन्टफोर्डका योअने विस्सा र ब्रायन एमबेउमोले गोल गर्दा अर्को एक गोल लिभरपूलका इब्राहिमा कोनाटेले आत्मघाती उपहार दिएका थिए ।
यता, लिभरपूलका लागि एलेक्स ओक्लाडे चेम्बरलिनले एक गोल फर्काए ।
जीटेक कम्युनिटी रंगशालामा खेलको १९ औं मिनेटमा कोनाटेको आत्मघाती गोलमार्फत ब्रेन्टफोर्डले अग्रता लिएको थियो । घरेलु टोलीले पाएको कर्नरमा कोनाटेले आत्मघाती गोल गर्न पुगेका थिए ।
त्यस्तै, ४२ औं मिनेटमा विस्साले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए । म्याथिस जेनसेनको पासमा विस्साले गोल गर्दा ब्रेन्टफोर्ड २–० ले अघि बढेको थियो । त्यसअघि ३९ औं मिनेटमा विस्साले गोल गरेतापनि भिएआरले मान्यता दिएको थिएन ।
यता, पहिलो हाफ २ गोल खाएको मर्सिसाइड क्लबले ५० औं मिनेटमा चेम्बरलिनको गोलमार्फत खेलमा फर्कने संकेत गरेको थियो । तर, ८४ औं मिनेटमा एमबेउमोले काउन्टरमा गोल गर्दा खेल ब्रेन्टफोर्डले ३–१ ले जित्यो ।
जितसंगै ब्रेन्टफोर्डले १८ खेलमा २६ अंक जोड्दा लिग तालिकाको सातौं स्थानमा उक्लियो ।
यता, पराजित लिभरपूलको १७ खेलमा २८ अंक छ । मर्सिसाइड क्लब तालिकाको छैटौं स्थानमा छ ।