भक्तपुर । दोस्रो संस्करणको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
विहिवार भएको सिरिजअन्तर्गत पहिलो खेलमा घरेलु टोली नेपाल भ्रमणकारी टोली नामिबियासंग ४ विकेटले पराजित भएको हो ।
एसोसिएट नम्बर एक टोली बन्ने लक्ष्य बनाइरहेको नेपाल ब्याटिङमा कमजोर प्रदर्शन गरेसंगै क्रिकेट विश्वकप लिग २ अन्तर्गत पहिलो खेलमै नराम्रोसंग हार बेहोर्न बाध्य बन्यो ।
जितसंगै नामिबियाले लिग तालिकामा महत्वूर्ण २ अंक जोडेको छ ।
काठमाडौंको टियु क्रिकेट मैदानमा भएको खेलमा १३३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाउँदै १३४ रन जोड्यो ।
नामिबियाको जितमा जान फ्राइलिंकले ५३ बल खेल्नेक्रममा ४ चौका प्रहार गर्दै ३४ रन जोडेर पेविलियन फर्किदा निकोल लोफ्टेइ इटनले ३० बलमा ५ चौका प्रहार गर्दै ३१ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, ओपनर ब्याट्सम्यान माइकल भान लिङ्गेनले ३३ बलमा ३ चौका प्रहार गर्दै २३ रन जोडेर आउट हुँदा अर्का ओपनर निकोलास डाभिनले १६ बल खेल्नेक्रममा २ चौका प्रहार गरेर १५ रन जोड्दै पेविलियन फर्किए ।
यता, जेजे स्मिथले ३५ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १७ रन जोडेर अविजित रहँदा कप्तान हेराल्ड इसास्मस ८ र विकेटकिपर जेन ग्रिन २ रनमा पेविलियन फर्किए ।
रुविन ट्रम्पेलम्यान १ रनमा अविजित रहे ।
नामिबियाले अतिरिक्त रुपमा ३ रन जोड्यो ।
नेपालका लागि सोमपाल कामीले ७ ओभर बलिङ गर्दै १ मेडनसहित ३२ रन दिएर ३ विकेट लिँदा ललित राजबंशीले ७ ओभरमा १ मेडन राख्नेक्रममा २० रन दिएर २ विकेट लिए ।
त्यस्तै, कप्तान रोहित पौडेलले ४ ओभर बलिङ गर्दै १६ रन दिएर १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले पहिलो बलमै ओपनर ब्याट्सम्यान कुशल भुर्तेल गुमाउन पुग्यो । त्यसयता नेपालले निरन्तर जसो विकेट गुमाउदा ४०.१ ओभरमा अलआउट हुँदै १३२ रन जोड्यो ।
नेपालको फितलो ब्याटिङमा भिम सार्कीले ८६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ४४ रन जोड्दा गुलशन झाले ३१ बल खेल्नेक्रममा ३ चौका प्रहार गर्दै २१ रन जोडेर आउट भए ।
त्यस्तै, करण केसीले ३८ बलमा ३ चौका प्रहार गर्दै १६ रन जोडेर आउट हुँदा कुशल मल्ल २२ बलमा १ चौका र १ छक्का प्रहार र्गै १५ रन जोडेर पेविलियन फर्किए ।
यता, पवन सराफले २२ बलमा १ छक्का प्रहार गर्दै १२ रन जोडेर आउट हुँदा अनिल साह ८, आसिफ शेख ४, सोमपाल कामी २, रोहित पौडेल १ रनमा आउट भए ।
ललित राजबंशी शुन्य रनमा अविजित रहे ।
नेपालले अतिरिक्त रुपमा ९ रन जोड्यो ।
नेपालको ब्याटिङ लाइनलाई सस्तैमा धराशायी पार्न भ्रमणकारी टोली नामिबियाका लागि हेराल्ड इसास्मसले ८.१ ओभर बलिङ गर्दा २५ रन दिएर सर्वाधिक ५ विकेट लिँदा ज्याक ब्रस्सेलले ५ ओभर बलिङ गर्दै २ मेडनसहित मात्र ११ रन दिएर २ विकेट लिए ।
त्यस्तै, रुविन ट्रम्पेलम्यानले १० ओभर बलिङ गर्नेक्रममा २ मेडनसहित ३० रन खर्चिएर २ विकेट लिँदा निकोल लोफ्टेइ इटनले ३ ओभर बलिङ गर्दै २ मेडन राख्नेक्रममा मात्र ५ रन दिएर १ विकेट लिए ।
नेपालले अब सिरिजअन्तर्गत दोस्रो खेलमा बलियो नेडरल्याण्ड्ससंग सनिवार प्रतिस्पर्धा गर्नेछ ।