भक्तपुर । क्यानडामा हुने आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सिरिजका लागि नेपाली टोली घोषणा भएको छ ।
सोमवार नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।
कप्तान रोहितसंगै कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भिम सार्की, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, सन्दिप लामिछाने, ललित राजबंशी र देव खनाल टोलीमा समेतिएका छन् ।
घोषित टोलीमा देव खनाल भने रिर्जभ खेलाडीका रुपमा रहेका छन् ।
क्यानडामा सेप्टेम्बर १६ देखि २४ तारिखसम्म ओडिआई सिरिज हुने तालिका रहेको छ ।
जसमानेपालले घरेलु टोली क्यानडा र ओमानसंग खेल्नेछ ।
ओडिआई सिरिजमा तीनै टोलीले प्रत्येकसंग दुई–दुई खेल खेल्नेछ ।
नेपालले खेल घरेलु टोली क्यानडासंग सेप्टेम्बर १६ तारिखमा खेल्दै सिरिजको सुरुवात गर्नेछ ।
त्यसपछि ओमानसंग १८, क्यानडासंग २२ र फेरी ओमानसंग २४ तारिखमा खेल खेल्ने तालिका रहेको छ ।
क्रिकेट विश्वकप लिग २ को तालिकामा नेपाल ४ खेलबाट मात्र १ जितसहित २ अंकका साथ सातौंमा रहेको छ ।