भक्तपुर । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत क्यानडा सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।
बुधवार राति भएको खेलमा ओमनसंग १ विकेटले पराजित भएसंगै नेपालले त्रिकोणात्मक सिरजमा लगातार दोस्रो हार बेहोरेको हो ।
त्यसअघि सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासंग १०३ ले पराजित भएको थियो ।
लगातारको खराब प्रदर्शनसंगै नेपालले लिग २ को अंक तालिकामा ६ खेलबाट ५ खेलमा हार र १ खेलमा जितसहित २ अंक जोडेको छ ।
ओमानले भने ५ खेलबाट ५ अंक जोडेको छ ।
क्यानडास्थित मापेल लिफ क्रिकेट मैदानमा भएको खेलमा २२१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको ओमानले अन्तिम बल बाँकी छँदै ९ विकेट गुमाएर २२३ रन जोड्यो ।
ओमानको जितमा ओपनर ब्याट्सम्यान जतिन्दर सिंहले ४९ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४१ रन जोड्दा अर्का ओपनर कश्यप प्रजापतिले ५२ बल खेल्नेक्रममा ४ चौका प्रहार गरेर ३६ रन जोड्दै पेविलियन फर्किए ।
त्यस्तै, कप्तान अकिब इलियासले ३३ बलमा ५ चौका प्रहार गरेर २९ रन जोड्दै पेविलियन फर्किदा विकेटकिपर प्रतिक अथाभालेले ३६ बलमा ३ चौका प्रहार गर्दै २६ रन जोडेर आउट भए ।
यता, शोहिब खानले २६ बलमा ४ चौका प्रहार गर्दै २६ रन जोडेर आउट हुँदा खालिद कैलले २१ बल सामना गर्नेक्रममा ३ चौका प्रहार गर्दै १७ रन जोडेर पेविलियन फर्किए ।
शकिल अहमदले २४ बलमा ३ चौका प्रहार गर्दै १७ रन जोडेर अविजित रहँदा आयान खान ९, फायाज भट ८ र जय ओदेद्रा ५ रनमा पेविलियन फर्किए ।
कालेमुल्लाह भने ६ रनमा अविजित रहे ।
ओमानले अतिरिक्त रुपमा ३ रन जोड्यो ।
नेपालका लागि गुलशन झाले १० ओभर बलिङ गर्दा २ मेडनसहित ४७ रन खर्चिएर सर्वाधिक ५ विकेट लिँदा करण केसीले २, सन्दिप लामिछाने र आरिफ शेखले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै २२० रन जोड्यो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ७२ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ६० रनको अर्धशतकिय पारी खेल्दा गुलशन झाले ३५ बल खेल्नेक्रममा ३ चौका र ५ छक्का प्रहार गर्दै ५३ रनको अर्धशतकिय पारी खेले ।
त्यस्तै, आरिफ शेखले ८८ बल खेल्नेक्रममा १ चौका मद्दतमा ३५ रन जोड्दै पेविलियन फर्किदा विकेटकिपर आसिफ शेखले भने २८ बलको समाना गर्नेक्रममा २ चौका प्रहार गर्दै ११ रन जोडेर आउट भए ।
यता, सोमपाल कामीले ८ बलमा २ चौका प्रहार गर्दै २० रन जोडेर रनआउट हुँदा भिम सार्कीले ३२ बलमा १ चौका प्रहार गर्दै ११ रन जोडेर पेविलियन फर्किए ।
सन्दिप लामिछानेले १५ बलमा ११ रन जोडेर अविजित रहँदा अर्जुन साउद ५, अनिल साह ३ र करण केसी १ रनमा पेविलियन फर्किए ।
नेपालले अतिरिक्त रुपमा १० रन जोड्यो ।
ओमानका लागि अकिब इलियास, कालेमुल्लाह र फायाज भटले समान २–२ विकेट लिँदा शकिल अहमद र शोहिब खानले १–१ विकेट लिए ।