एजेन्सी । फ्रान्सेली फुटबलको शीर्ष लिग ‘लिग वान’ मा यो साता २५ औं चरणका खेलहरु सम्पन्न भएका छन् ।
२५ औं चरणसम्म आइपुग्दा फ्रान्सेली महारथी क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शीर्ष स्थानमा ८ अंकको स्पष्ट अग्रता बनाएको छ ।
मर्सेलेविरुद्व पेरिस सेन्ट जर्मेन (०–३)
लिग वानमा यो साताको हेभिवेट भिडन्तमा शीर्ष दुईमा रहेको यी दुई टोली आइवार राति स्टेड भेलोडरोम रंगशालामा आमनेसामने भएका थिए ।
जसमा पिएसजीले खेल ३–० ले जित्यो । पिएसजीका लािग केलियन एम्बाप्पेले दुई गोल गर्दा अर्को एक गोल लियोनल मेसीको नाममा रह्यो ।
अर्जेन्टिनी राष्ट्रिय टोलीका कप्तान समेत रहेका मेसीको उक्त गोल व्यावसायिक क्लब फुटबलमा ७०० औं गोल समेत रह्यो ।
त्यस्तै, फ्रान्सेली युवा खेलाडी एम्बाप्पेले पनि पिएसजीका लागि २०० औं गोल पूरा गरेको छ ।
निकतम प्रतिद्वन्दीमाथि महत्वपूर्ण जित हात पारेको पिएसजीले २५ खेलमा ६० अंक जोडेको छ । पराजित मर्सेलेको समान खेलमा ५२ अंक छ ।
जितसंगै पिएसजीले शीर्ष स्थानमा ८ अंकको स्पष्ट अग्रता लिएको छ । पराजित मर्सेले दोस्रो स्थानमा छ ।
मोनाकोविरुद्व नाइस (०–३)
आफ्नै घरेलु मैदानमा नाइससंग ३–० ले पराजय बेर्होदै महत्वपूर्ण ३ अंक गुमाउँदा मोनाको दोस्रो स्थानमा उक्लिने मौकाबाट विमूूख भयो । तेस्रो स्थानमा रहेको मोनाकोले जित हात पार्न सकेको भए दोस्रो स्थान उक्लिने समिकरण थियो ।
नाइसका लागि तेरिम मोफीले दुई गोल गर्दा खेपरेन थुरामले अर्को एक गोल थपे । जितसंगै नाइसले २५ खेलमा ४१ अंक जोड्दै लिग तालिकाको सातौं स्थानमा उक्लिएको छ ।
यता, पराजित मोनाकोको समान खेलमा ५० अंक छ । मोनाको लिग वानको तेस्रो स्थानमा छ ।
लिग वानअन्तर्गत साताका अन्य खेलहरुमा रेम्सले तौलोसेमाथि ३–० को जित रच्दा क्लेर्मोन्ट र स्टार्सबर्गले १–१ को बराबरी खेले ।
त्यस्तै, अजासियोले ट्रोयसमाथि २–१ को जित हात पार्दा नानटेस रेनिससंग १–० ले पराजित भयो ।
लिलेले ब्रेस्टमाथि २–१ को जित हात पार्दा एङ्गर्स ओलम्पिक लियानेससंग ३–१ ले पराजित भयो ।
त्यस्तै, मोन्टपलियर र लेन्स १–१ को बराबरीमा रोकिँदा लोरियन्ट अकसेरेसंग १–० ले पराजित भयो ।