एजेन्सी । फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन (पिएसजी) ले लिग वानमा स्ट्रासबर्गमाथि जित रचेको छ ।
सनिवार राति भएको खेलमा साविक विजेता समेत रहेको पिएसजीले स्ट्रासबर्गमाथि ४–२ को जित रचेको हो ।
पिएसजीको घरेलु मैदान पेरिस देस प्रिन्सेसमा भएको खेलमा घरेलु टोलीलाई जिताउन सेन्नी मायुलुु, मार्को एसेन्सियो, ब्राड्ले बार्कोला र लि कान इनले गोल गरे ।
पराजित भ्रमणकारी टोलीका लागि भने सेकौ मारा र पेपे डियोङले गोल फर्काए ।
खेल सुरु भएको १८ औं मिनेटमा बार्कोलाको पासमा मायुलुले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलायो ।
त्यसपछि दोस्रो हाफको ४७ औं मिनेटमा एसेन्सियोले गोल थप्दा पिएसजी २–० ले अघि बढ्यो ।
तर, ५८ औं मिनेटमा माराले भ्रमणकारी टोलीका लागि गोल फर्काउँदा खेल २–१ को स्थितिमा आयो ।
यता, ६६ औं मिनेटमा विलियम पाचोको पासमा बार्कोलाले गोल गर्दा साविक विजेता टोली ३–१ ले अघि बढ्यो ।
निर्धारित समयको अन्त्यतिर ९० औं मिनेटमा जाओ नेभेको पासमा लि काङ इनले गोल थप्दा पिएसजी ४–१ ले अघि बढ्यो ।
त्यसको दुई मिनेटपछि नै इन्जुरी समयको दोस्रो मिनेटमा माराको पासमा डियोङले भ्रमणकारी टोलीका लागि गोल फर्काउँदा खेल ४–२ ले सकियो ।
जितसंगै पिएसजीले ८ खेलमा २० अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा कायम रहेको छ ।
पराजित स्ट्रासबर्गको भने समान ८ खेलमा १० अंकसहित तालिकाको सातौं स्थानमा रहेको छ ।