
एजेन्सी । फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन (पिएसजी) ले लिग वानअन्तर्गत खेलमा मोन्टपेलियरमाथि फराकिलो जित निकालेको छ ।
शुक्रवार राति भएको सिजनको दोस्रो लिग खेलमा साविक विजेता समेत रहेको पिएसजीले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी मोन्टपेलियरमाथि एकपक्षिय रुपमा ६–० को फराकिलो जित निकालेको हो ।
पिएसजीको घरेलु मैदान पेरिस देस प्रिन्सेस रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन ब्राड्ले बार्कोलाले दुई गोल गर्दा मार्को एसेन्सियो, आचरफ हाकिमी, वारेन जैरे इमिरे र लि काङ इनले समान एक–एक गोल गरे ।
खेल सुरु भएको चौथौं मिनेटमा जाओ नेभेसको पासमा बार्कोलाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि २४ औं मिनेटमा नेभेसकै पासमा एसेन्सियोले गोल थप्दा पिएसजी २–० ले अघि बढ्यो ।
यता, दोस्रो हाफको ५३ औं मिनेटमा ओसमान डेम्बेलेको पासमा बार्कोलाले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा फ्रान्सेली महारथी ३–० ले अघि बढ्यो ।
त्यसको तीन मिनेटपछि नै नानो मेन्डेसको पासमा हाकिमीले गोल गर्दा पिएसजी ४–० ले अघि बढ्यो ।
६० औं मिनेटमा डेम्बेलेको पासमा इमिरेले गोल थप्दा घरेलु टोली ५–० ले अघि बढ्यो ।
त्यस्तै, ८२ औं मिनेटमा हाकिमीको पासमा लि काङ इनले गोल थप्दा पिएसजी ६–० ले विजयी भयो ।
फरकिलो जितसंगै साविक विजेता टोलीले फ्रान्सेली शीर्ष लिगमा दुई खेलबाट शतप्रतिशत जितका साथ ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।