एजेन्सी । फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन (पिएसजी) ले लिग वानअन्तर्गत खेलमा लियोनमाथि फराकिलो जित निकालेको छ ।
आईतवार राति भएको खेलमा साविक विजेता समेत रहेको पिएसजीले लियोनमाथि ४–१ को फराकिलो जित निकालेको हो ।
पिएसजीको घरेलु मैदान पेरिस देस प्रिन्सेस रंगशालामा भएको खेलमा घरेलु टोलीको जितमा गोन्कालो रामोसले दुई गोल गर्दा लुकास बेराल्डोले एक गोल गरे । त्यस्तै, अर्को एक गोल लियोनका नेमान्जा म्याटिकबाट आत्मघाती उपहार पायो ।
यता, भ्रमणकारी टोली लियोनका लागि इर्नेस्ट न्वामाले एक गोल फर्काए ।
खेल सुरु भएको तेस्रो मिनेटमै म्याटिकको आत्मघाती गोलमा घरेलु टोलीले सुरुवाती अग्रता लियो ।
त्यसको तीन मिनेटपछि नै छैटौं मिनेटमा ब्राड्ले बारकोलाको पासमा बेराल्डोले गोल थप्दा पिएसजी २–० ले अघि बढ्यो ।
त्यस्तै ३२ औं मिनेटमा आर्चिफ हाकिमीको पासमा रामोसले गोल थप्दा साविक विजेता टोली ३–० ले अघि बढ्यो ।
तर, ३७ औं मिनेटमा इर्नेस्टले लियोनका लागि गोल फर्काउँदा खेल ३–१ को अवस्थामा आयो ।
यता, ४२ औं मिनेटमा मार्को एसेन्सियोको पासमा रामोसले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा पिएसजी पहिलो हाफमै ४–१ ले अघि बढ्यो ।
त्यसपछि दोस्रो हाफमा दुबै टोलीबाट थप गोल निस्किएन र खेल पिएसजीले जित्यो ।
फराकिलो जितसंगै लिग लिडर पिएसजीले २९ खेलबाट ६६ अंक जोडेको छ ।
पराजित लियोनको भने ३० खेलबाट ४१ अंकसहित तालिकाको आठौं स्थानमा झरेको छ ।