एजेन्सी । फ्रान्सेली फुटबलको शीर्ष घरेलु लिग लिग वानमा मर्सेलेले ब्रेस्टमाथि फराकिलो जित निकालेको छ ।
सनिवार राति भएको खेलमा मर्सेलेले ब्रेस्टमाथि ५–१ को फराकिलो जित निकालेको हो ।
ब्रेस्टको घरेलु मैदानमा जित निकाल्न मर्सेलेका लागि डेब्यु खेल खेलिरहेका मासन ग्रिनउड र लुइस हेनरिकले समान दुई–दुई गोल गर्दा इले वाहीले एक गोल थपे ।
पराजित घरेलु टोलीका लागि माह्दी कामाराले सान्तोना गोल गरे ।
खेल सुरु भएको तेस्रो मिनेटमा अमिनी हारिटको पासमा ग्रिनउडले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाए ।
यता, ९ औं मिनेटमा घरेलु टोलीले खेलमा फर्किने सुनौलो अवसर गुमायो ।
रोमेन डेल कास्टिलो पेनाल्टीमा चुक्दा ब्रेस्ट बराबरीमा फर्किने अवसरबाट बञ्चित बन्यो ।
खेलको २६ औं मिनेटमा हारिटकै पासमा हेनरिकले गोल गर्दा मर्सेले २–० ले अघि बढ्यो ।
त्यस्तै, ३१ औं मिनेटमा म्यानचेस्टर युनाइटेडका पुर्व खेलाडी ग्रिनउडले पेनाल्टीमा गोल गर्दा मर्सेले ३–० ले अघि बढ्यो ।
पहिलो हाफको इन्जुरी समयको छैटौं मिनेटमा रोमेन डेल कास्टिलोको पासमा कामाराले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल ३–१ को अवस्थामा आयो ।
तर, दोस्रो हाफको ४८ औं मिनेटमा हेनरिकले गोल थप्दा मर्सेले ४–१ ले अघि बढ्यो ।
यता, ६९ औं मिनेटमा वाहीले पेनाल्टीमा गोल थप्दा मर्सेले ५–१ ले विजयी भयो ।
फराकिलो जितसंगै मर्सेलेले लिग तालिकामा महत्वपूर्ण तीन अंक जोडेको छ ।
गयराति नै भएको लिग वानको अन्य खेलहरुमा रेम्समाथि लिलले २–० को जित निकाल्दा मोनाकोले सेन्ट इटाइनेमाथि १–० को जित रच्यो ।