एजेन्सी । फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन (पिएसजी) ले लिग वानअन्तर्गत खेलमा पुनरागमन जित निकालेको छ ।
सनिवार राति भएको खेलमा पिएसजीले एक गोलले पछि रहेको स्थितिलाई उल्त्याउँदै ब्रेस्टमाथि ३–१ को पुनरागमन जित निकालेको हो ।
पिएसजीको घरेलु मैदान पेरिस देस प्रिन्सेस रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन ओसमान डेम्बेलेले दुई गोल गर्दा फाबियान रुइजले एक गोल थपे ।
यता, ब्रेस्टका लागि भने रोमेन डेल कास्टिलोले एक गोल गरे ।
पहिलो हाफको २९ औं मिनेटमा कास्टिलोले पेनाल्टीमा गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाए ।
तर, ४२ औं मिनेटमा मार्को एसेन्सियोको पासमा डेम्बेलेले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
त्यसपछि दोस्रो हाफको ७३ औं मिनेटमा आचरफ हाकिमीको पासमा रुइजले गोल थप्दा पिएसजी २–१ ले अघि बढ्यो ।
त्यसको एकमिनेट पछि नै डेम्बेलेले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा पिएसजी ३–१ ले विजयी भयो ।
सहज पुनरागमन जितसंगै पिएसजीले चार खेलबाट शतप्रतिशत जितका साथ १२ अंक जोडेर तालिकाको शीर्ष स्थानमा कायम रहेको छ ।
पराजित ब्रेस्टको भने समान चार खेलमा तीन अंकसहित तालिकाको १२ औं स्थानमा रहेको छ ।