एजेन्सी । बलियो टोली इन्टर मिलान इटालियन सिरी ए अन्तर्गत खेलमा कागलियारीसंग बराबरीमा रोकिएको छ ।
आईतवार राति भएको खेलमा लिग लिडर इन्टर मिलान तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी कागलियारीसंग २–२ को बराबरीमा रोकिएको हो ।
इन्टरको घरेलु मैदान स्टाडियो गिउसेप्पे मियाजा रंगशालामा भएको खेलमा घरेलु टोलीका लागि मार्कुस थुराम र हाकन चालहानोग्लुले गोल गर्दा भ्रमणकारी टोलीका लागि इलडर शोमुरोदोभ र निकोलास भियोलाले गोल गरे ।
खेल सुरु भएको १२ औं मिनेटमा एलेक्सेस सान्चेजको पासमा थुरामले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
तर, दोस्रो हाफको ६४ औं मिनेटमा जिटो लुभुम्बोको पासमा शोमुरोदोभले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसपछि ७४ औं मिनेटमा चालहानोग्लुले पेनाल्टीमार्फत् गोल थप्दा खेल इन्टर २–१ ले अघि बढ्यो ।
तर, ८२ औं मिनेटमा जियानलुका लापादुलाको पासमा भियोलाले गोल फर्काउँदा खेल २–२ को बराबरीमा सकियो ।
बराबरीसंगै दुबै टोलीले एक–एक अंक बाँडेका छन् ।
लिगको शीर्ष स्थानमा रहेको इन्टरको ३२ खेलबाट ८३ अंक भएको छ ।
उता, कागलियारीको भने समान ३२ खेलबाट ३१ अंक जोड्दै तालिकाको १४ औं स्थानमा रहेको छ ।