एजेन्सी । इटालियन सिरी ए मा लिग लिडर इन्टर मिलान जेनोआसंग बराबरीमा रोकिएको छ ।
शुक्रवार राति भएको खेलमा लिड लिडर इन्टर मिलान तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी जेनोआसंग १–१ को बराबरीमा रोकिएको हो ।
जेनोआको घरेलु मैदान लुइगी फेरारिस रंगशालामा भएको खेलमा दुबै गोल पहिलो हाफको अन्त्यतिर भयो ।
खेलको ४२ औं मिनेटमा मार्को अर्नाउटोभिकको गोलमार्फत इन्टरले १–० को अग्रता लियो ।
तर, पहिलो हाफको इन्जुरी समयको सातौं मिनेटमा रदु ड्रागुसिनले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसपछि खेलमा थप गोल निस्किएन र खेल १–१ को बराबरीमा सकियो ।
बराबरीसंगै दुबै टोलीले एक–एक अंक बाँधेका छन् ।
शीर्ष स्थानमा रहेको इन्टरको १८ खेलमा ४५ अंक छ भने जेनोआको समान खेलमा २० अंक सहित तालिकाको १३ औं स्थानमा रहेको छ ।
सिरी ए अन्तर्गत गयराति नै भएको अन्य खेलहरुमा लाजिओले फ्रोसिनोनमाथि ३–१ को जित निकाल्दा नापोली भने मोन्जासंग गोलरहित बराबरीमा रोकिएको छ ।
त्यस्तै, फ्लोरेन्टिनाले टोरिनोमाथि १–० को जित हासिल गरेको छ ।