एजेन्सी । जारी सिजन उच्च लयमा रहेको आर्सनल इंग्लिस प्रिमियर लिगमा जितलाई निरन्तरता दिँदा लिग तालिकाको शीर्ष स्थानमा अग्रता फराकिलो बनाउँदै लगेको छ ।
आइतवार राति भएको खेलमा क्रिस्टल प्यालेसमाथि ४–१ को फराकिलो जित हात पार्दा इन्टरन्यास्नल ब्रेक अगाडी आर्सनलले निकतम प्रतिद्वन्दी म्यानचेस्टर सिटीभन्दा ८ अंकको फराकिलो अग्रता बनाएको हो ।
इमिरेट्स रंगशालामा भएको खेलमा घरेलु टोलीका लागि बुकायो साकाले म्यान अफ द म्याच प्रदर्शन गरे ।
इंग्लिस फरवार्ड साकाले दुई गोल गर्नुका साथै एक गोलका लागि असिस्ट प्रदान गरेका थिए । त्यस्तै, ग्राबियल मार्टिनेली र ग्रान्ट छाकाले समान एक–एक गोल गरे ।
खेलको २८ औं मिनेटमा साकाको असिस्टमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि ४३ औं मिनेटमा साकाले गोल गर्दा पहिलो हाफसम्म आर्सनल खेलमा २–० ले अगाडी रह्यो । साकाको उक्त गोलमा डिफेन्डर बेन ह्वाइटले पास उपलब्ध गरेका थिए ।
दोस्रो हाफको ५५ औं मिनेटमा गनर्सका अनुभवी खेलाडी छाकाले गोल गर्दा खेल मा आर्सनल ३–० को आरामदायी अवस्थाले अघि बढ्यो ।
यता, ६३ औं मिनेटमा प्यालेसका जेफरे स्चलुपले गोल फकाउँदै खेललाई ३–१ को अवस्थामा ल्याए ।
तर, साकाले ७४ औं मिनेटमा व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा आर्सनलले खेल ४–१ को फराकिलो अन्तरले जित्यो ।
जितसंगै आर्सनलले २८ खेलमा ६९ अंक जोडेको छ । यो भनेको दोस्रो स्थानमा रहेको साविक विजेता सिटीको भन्दा ८ अंकले बढी हो । आर्सनलको भन्दा एक खेल कम खेलेको सिटीको २७ खेलमा ६१ अंक छ ।
यता, पराजित प्यालेसको समान खेलमा २७ अंक छ । प्यालेस तालिकाको १२ औं स्थानमा छ ।