एजेन्सी । स्पेनिस महारथी रियल मड्रिड ला लिगाअन्तर्गत खेलमा लास पाल्माससंग बराबरीमा रोकिएको छ ।
विहिवार राति भएको खेलमा साविक विजेतासमेत रहेको रियल मड्रिड तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी लास पाल्माससंग १–१ को बराबरीमा रोकिएको हो ।
पाल्मासको घरेलु मैदान इस्टाडियो ग्रान कानारिया रंगशालामा भएको खेलमा घरेलु टोलीका लागि अल्बर्टो मोलैरो र मड्रिडका लागि भिनिसियस जुनियरले गोल गरे ।
खेल सुरु भएको पाँचौं मिनेटमा ओलिभर म्याकब्रुनाइको पासमा मौलैरोले गोल गर्दै लास पाल्मासलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि दोस्रो हाफको ६९ औं मिनेटमा भिनिसियस जुनियरको पेनाल्टी गोलमार्फत् मड्रिड खेलमा फर्कियो ।
यता, घरेलु टोलीमाथि दवाव सिर्जना गरेतापनि मड्रिडले थप गोल भने निकाल्न सकेन र खेल १–१ को बराबरीमा सकियो ।
बराबरीसंगै दुबै टोलीले एक–एक अंक बाँडेका छन् ।
ला लिगा तालिकामा तीन खेलबाट साविक विजेता टोलीको एक जित र दुई बराबरीसंगै पाँच अंकसहित पाँचौं स्थानमा झरेको छ ।
त्यस्तै, लास पाल्मासको समान तीन खेलबाट दुईमा बराबरी र एकमा हारको नतिजासहित दुई अंक जोडेर तालिकाको १६ औं स्थानमा रहेको छ ।