
एजेन्सी । स्पेनिस ला लिगाअन्तर्गत खेलमा सेभिल्लाले रायो भालेकानोमाथि जित निकालेको छ ।
सोमवार राति भएको खेलमा सेभिल्लाले रायो भालेकानोमाथि २–१ को जित निकालेको हो ।
रायो भालेकानोको घरेलु मैदान इस्टाडियो दि भालेकास रंगशालामा भएको खेलमा सबै गोल पहिलो हाफमा सम्भव भयो ।
खेलको १९ औं मिनेटमा युस्सुफ इन नेस्यरीले गोल गर्दै सेभिल्लालाई सुरुवाती अग्रता दिलायो ।
त्यसपछि २९ औं मिनेटमा अल्फान्सो इस्पिनोको आसिस्टमा इसी पलाजोनले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
तर, पहिलो हाफको अन्त्यतिर इसाक रोमेरोको असिस्टमा युस्सुफ इन नेस्यरीले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा सेभिल्ला २–१ ले अघि बढ्यो ।
त्यसपछि खेलमा थप गोल निस्किएन र खेल सेभिल्लाले जित्यो ।
जितसंगै सेभिल्लाले ला लिगामा २३ खेल खेलिसक्दा २० अंक जोड्दै तालिकाको १५ औं स्थानमा उक्लिएको छ ।
पराजित रायो भालेकानोको समान २३ खेलमा २४ अंकसहित तालिकाको १३ औं स्थानमा रहेको छ ।