एजेन्सी । स्पेनिस महारथी बार्सिलोनाले ला लिगाअन्तर्गत खेलमा भिल्लारियलमाथि फराकिलो जित निकालेको छ ।
आईतवार राति भएको खेलमा बलियो बार्सिलोनाले भिल्लारियलमाथि ५–१ को फराकिलो जित निकालेको हो ।
भिल्लारियलको घरेलु मैदान इस्टाडियो डि ला सेरामिका रंगशालामा भएको खेलमा भ्रमणकारी टोली बार्सिलोनालाई जिताउन रोर्बट लेवान्डोस्की र राफिन्हाले समान दुई–दुई गोल गर्दा पाब्लो टोरेले एक गोल थपे ।
घरेलु टोलीका लागि भने अयोज पेरेजले सान्तोना गोल गरे ।
खेलको २० औं मिनेटमा पाब्लो टोरेको असिस्टमा लेवान्डोस्कीले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाए ।
३५ औं मिनेटमा लेवान्डोस्कीले दोस्रो गोल थप्दा बार्सिलोना २–० ले अघि बढ्यो ।
त्यस्तै, ३८ औं मिनेटमा निकोलास पेपेको पासमा पेरेजले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल २–१ को स्थितिमा आयो ।
यता, दोस्रो हाफको ५८ औं मिनेटमा पेड्रीको पासमा टोरेले गोल गर्दा क्याटलान क्लब ३–१ ले अघि बढ्यो ।
६७ औं मिनेटमा प्राप्त पेनाल्टीमा लेवान्डोस्की चुक्दा ह्याट्रिक गर्ने सुनौलो मौका गुमायो ।
त्यस्तै, ७४ औं मिनेटमा पाउ भिक्टरको पासमा राफिन्हाले गोल गर्दा बार्सिलोना ४–१ ले अघि बढ्यो ।
८३ औं मिनेटमा लामिन यामलको असिस्टमा राफिन्हाले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा बार्सिलोना ५–१ ले विजयी भयो ।
फराकिलो जितसंगै ६ खेलबाट १८ अंकसहित बार्सिलोना लिग तालिकाको शीर्ष स्थानमा रहेको छ ।
पराजित भिल्लारियलको समान ६ खेलमा ११ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ ।