एजेन्सी । स्पेनिस घरेलु फुटबलको शीर्ष प्रतियोगिता ला लिगाअन्तर्गत खेलमा ग्रानाडामाथि जिरोनाले गोल वर्षा गरेको छ ।
शुक्रवार राति भएको खेलमा रेलिगेशनमा परिसकेको ग्रानाडामाथि जिरोनाले ७–० को गोल वर्षा गरेको हो ।
जिरोनाको घरेलु मैदान म्युनिसिपल दि मोन्टिलिभी रंगशालामा भएको खेलमा घरेलु टोलीलाई एकतर्फी जित दिलाउन अर्टेम डोभब्याकले ह्याट्रिक हान्दा भिक्टर स्याहान्कोभले दुई तथा इरिक गार्सिया र क्रिस्टियन स्टुआनीले एक–एक गोल गरे ।
पहिलो हाफको ३० औं मिनेटमा स्याहान्कोभको पासमा गार्सियाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसको तीन मिनेटपछि नै मिगुएल गुटेरेजको पासमा स्याहान्कोभले गोल गर्दा जिरोना २–० ले अघि बढ्यो ।
यता, पहिलो हाफको अन्त्यतिर ४४ औं मिनेटमा अर्टेमले पेनाल्टीमा गोल थप्दा जिरोना ३–० ले अघि बढ्यो ।
दोस्रो हाफको ५४ औं मिनेटमा साभियोको असिस्टमा स्याहान्कोभले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा घरेलु टोली ४–० ले अघि बढ्यो ।
तर, ६१ औं मिनेटमा फाकुन्डो पिलिस्रीले दोहोरो पँहेलो कार्ड पाउँदा ग्रानडा १० खेलाडीमा समेतियो ।
७५ औं मिनेटमा स्टुआनीको असिस्टमा डोभ्याकले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा घरेलु टोली ५–० ले अघि बढ्यो ।
त्यसको ती मिनेटपछि नै डोभ्याकको पासमा स्टुआनीले गोल गर्दा जिरोना ६–० ले अघि बढ्यो ।
खेलको अन्त्यतिर ९० औं मिनेटमा डोभ्याकले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गर्दा जिरोना ७–० ले विजयी भयो ।
एकतर्फी फराकिलो जितसंगै जिरोनाले ३८ खेलबाट ८१ अंक जोड्दै लिग तालिकाको तेस्रो स्थानमा रहेर लिग टुंग्याएको छ ।
पराजित ग्रानडाले भने समान ३८ खेलमा मात्र २१ अंक् जोड्दै लिग तालिकाको १९ औं स्थानमा रहेर लिग सक्याएको छ ।