एजेन्सी । स्पेनिस महारथी रियल मड्रिडले ला लिगाअन्तर्गत खेलमा अलाभेसमाथि जित निकालेको छ ।
मंगलवार राति भएको खेलमा साविक विजेता समेत रहेको रियल मड्रिडले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी अलाभेसमाथि ३–२ को जित निकालेको हो ।
मड्रिडको घरेलु मैदान स्यान्टियागो बेर्नाबाउ रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन लुकास भाजक्वेज, केलियन एम्बाप्पे र रोड्रिगोले गोल गरे ।
अलाभेसका लागि भने कार्लोस बेनाभिडेज र किकेले गोल फर्काए ।
खेल सुरु भएको पहिलो मिनेटमै भिनिसियस जुनियरको पासमा भाजक्वेजले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि ४० औं मिनेटमा जुधे बेलिङघमको पासमा एम्बाप्पेले गोल थप्दा मड्रिड पहिलो हाफसम्म २–० ले अघि बढ्यो ।
त्यस्तै, दोस्रो हाफको ४८ औं मिनेटमा भाजक्वेजको पासमा रोड्रिगोले गोल थप्दा साविक विजेता टोली ३–० ले अघि बढ्यो ।
तर, ८५ औं मिनेटमा भ्रमणकारी टोलीका लागि अन्डेर ग्वेभाराको पासमा बेनाभिडेजले गोल फर्काउँदा खेल ३–१ को स्थितिमा आयो ।
त्यसको एक मिनेटपछि नै बेनाभिडेजकै पासमा किकेले गोल गर्दा खेल ३–२ को अवस्थामा आयो ।
त्यसपछि खेलमा थप गोल भएन र मड्रिड विजयी भयो ।
महत्वपूर्ण जितसंगै मड्रिडले सात खेलबाट १७ अंक जोडेर लिग तालिकाको दोस्रो स्थानमा कायम रह्यो ।
पराजित अलाभेसको भने समान ७ खेलबाट १० अंकसहित तालिकाको आठौं स्थानमा रह्यो ।