
एजेन्सी । एट्लेटिको डि मड्रिडले स्पेनिस ला लिगाअन्तर्गत खेलमा लास पाल्मासमाथि फराकिलो जित हासिल गरेको छ ।
सनिवार राति भएको खेलमा बलियो एट्लेटिको डि मड्रिडले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी लास पाल्मासमाथि ५–० को फराकिलो जित हासिल गरेको हो ।
एट्लेटिकोको घरेलु मैदान सिभिटास मेट्रोपोलिटानो रंगशालामा भएको खेलमा घरेलु टोलीको जितमा मार्कोस लोरेन्टे र एन्जेल कोरेयाले समान दुई–दुई गोल गर्दा मेम्फिस डिपेले अर्को एक गोल थपे ।
खेल सुरु भएको १५ औं मिनेटमा लोरेन्टेले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाए ।
त्यसको पाँच मिनेटपछि नै कोरेयाको असिस्टमा लोरेन्टेले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा घरेलु टोली २–० ले अघि बढ्यो ।
यता, दोस्रो हाफको ४७ औं मिनेटमा कोकेको पासमा कोरेयाले गोल थप्दा एट्लेटिको ३–० ले अघि बढ्यो ।
त्यस्तै, ६२ औं मिनेटमा कोरेयाले गोल व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा घरेलु टोली ४–० को फराकिलो अग्रतासहित अघि बढ्यो ।
खेलको अन्त्यतिर ८७ औं मिनेटमा रोड्रिगो रिक्युलमीको असिस्टमा मेम्फिस डिपेले गोल थप्दा एट्लेटिको ५–० ले विजयी भयो ।
फराकिलो जितसंगै एट्लेटिकोले २५ खेलमा ५१ अंक जोड्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लियो ।
पराजित भ्रमणकारी टोलीको भने समान २५ खेलमा ३५ अंक रहेको छ ।
लास पाल्मास तालिकाको ८ औं स्थानमा कायम रहेको छ ।