एजेन्सी । लाजियो इटालियन फुटबलको प्रतिष्ठित प्रतियोगिता कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
विहिवार राति भएको अन्तिम १६ को खेलमा सिरी ए प्रतिद्वन्दी नापोलीलाई ३–१ ले पराजित गर्दै लाजियो क्वाटरफाइनल प्रवेश गरेको हो ।
लाजियोको घरेलु मैदान स्टाडियो ओलम्पिको रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन टिज्जानी नोस्लिनले ह्याट्रिक हाने ।
यता, नापोलीका जियोभानी सिमेअनको गोल भने सान्तोनामा परिणत भयो ।
खेलको २१ औं मिनेटमा लाजियोले पेनाल्टी पाएतापनि माटिया जकाग्नी चुक्दा अग्रता लिन सकेन ।
तर, ३२ औं मिनेटमा सामुएल जिगटको पासमा नोस्लिनले गोल गर्दा लाजियो १–० ले अघि बढ्यो ।
यता, ३६ औं मिनेटमा सिमेअनले नापोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यस्तै, ४१ औं मिनेटमा पेड्रोको पासमा नोस्लिनले गोल थप्दा घरेलु टोली २–१ ले अघि बढ्यो ।
दोस्रो हाफको ५० औं मिनेटमा माटिया जकाग्नीको पासमा नोस्लिनले ह्याट्रिक हान्दा लाजियो ३–१ ले विजयी भयो ।
हारसंगै नापोली भने प्रतियोगिताबाट बाहिरिएको छ ।