एजेन्सी । युभेन्टसले युईएफए च्याम्पियन्स लिगमा आरबी लाइपिजिङमाथि प्रतिस्पर्धात्मक जित हासिल गरेको छ ।
विहिवार भएको खेलमा इटालियन क्लब युभेन्टसले जर्मन क्लब आरबी लाइपिजिङमाथि ३–२ को प्रतिस्पर्धात्मक जित हासिल गरेको हो ।
जर्मन क्लबको घरेलु मैदान रेडबुल एरिना रंगशालामा भएको खेलमा पहिलो हाफको ३० औं मिनेटमा लोइस ओपेन्डाको पासमा बेन्जामिन सिस्कोले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलायो ।
तर, दोस्रो हाफको ५० औं मिनेटमा एन्डेरा कामबियासोको पासमा डुसान भ्लाहोभिकले गोल फर्काउँदा युभेन्टस खेलमा फर्कियो ।
यता, ५९ औं मिनेटमा मिचेल डि ग्रेगोरियोले रातो कार्ड पाउँदा युभेन्टस १० खेलाडीमा समेतियो ।
६५ औं मिनेटमा सिस्कोले पेनाल्टीमा गोल थप्दा लाइपिजिङ २–१ ले अघि बढ्यो ।
तर, ६८ औं मिनेटमा इटालियन क्लबका लागि फ्रान्सिस्को कोनसेइकाओको पासमा भ्लाहोभिकले गोल फर्काउँदा खेल २–२ को बराबरीमा आयो ।
त्यस्तै, ८२ औं मिनेटमा निकोलो फागियोलीको पासमा फ्रान्सिस्को कोनसेइकाओले गोल थप्दा युभेन्टस ३–२ ले विजयी भयो ।
रोमाञ्चक जितसंगै युभेन्टसले २ खेलबाट शतप्रतिशत जितका साथ ६ अंक जोडेर लिग तालिकाको सातौं स्थानमा उक्लेको छ ।
जर्मन टोलीको भने समान २ खेल खेलिसक्दा अंकको खाता खोल्न सकेको छैन ।