
एजेन्सी । जर्मन महारथी बायर्न म्युनिखले बुडेसलिगाअन्तर्गत खेलमा आरबी लाइपिजिङमाथि प्रतिस्पर्धात्मक जित हासिल गरेको छ ।
सनिवार राति भएको खेलमा जारी सिजन उतारचढावपूर्ण प्रदर्शन गरिरहेको साविक विजेता बायर्न म्युनिखले आरबी लाइपिजिङमाथि २–१ को प्रतिस्पर्धात्मक जित हासिल गरेको हो ।
म्युनिखको घरेलु मैदान एलियान्ज रंगशालामा भएको खेलमा घरेलु टोलीको जितमा ह्यारी केनले दुबै गोल गरे ।
भ्रमणकारी टोलीका लागि भने बेन्जामिन सिस्कोले एक गोल फर्काए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५६ औं मिनेटमा जमाल मुसियालाको असिस्टमा केनले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
तर, ७० औं मिनेटमा डानी ओल्मोको असिस्टमा सिस्कोले लाइपिजिङका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसपछि बराबरी उन्मुख खेलको अन्त्यतिर इन्जुरी समयको पहिलो मिनेटमा इरिक म्याक्सिम चौपो मोटिङको असिस्टमा केनले गोल थप्दै म्युनिखलाई २–१ ले जिताए ।
प्रतिस्पर्धात्मक जितसंगै म्युनिखले २३ खेलमा ५३ अंक जोड्दै लिग तालिकाको दोेस्रो स्थानमा कायम रहेको छ ।
पराजित लाइपिजिङको समान २३ खेलमा ४० अंकसहित तालिकाको पाँचौं स्थानमा यथावत रहेको छ ।