एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा लखनउ सुपर जायन्समाथि कोलकता नाइट राइडर्सले जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
आईतवार राति भएको दोस्रो आईपिएल खेलमा लखनउ सुपर जायन्समाथि कोलकता नाइट राइडर्सले ९८ रनको फराकिलो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
जितसंगै कोलकताको ११ खेलबाट १६ अंक भएको छ ।
कोलकताको भन्दा एक खेल कम खेलेको राजस्थान रोयल्सको पनि समान १६ नै अंक भएतापनि नेट रनरेटका आधारमा कोलकता तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।
यता, पराजिता लखनउको भने ११ खेलबाट १२ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ ।
लखनउको घरेलु मैदान एकाना स्पोर्ट्स सिटी रंगशालामा भएको खेलमा २३६ रनको विशाल विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको घरेलु टोली १६.१ ओभरमा अलआउट हुन पुग्दा मात्र १३७ रनमा समेतियो ।
लखनउका लागि मार्कुस स्टोइनिसले २१ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३६ रन जोड्दा कप्तान तथा विकेटकिपर केएल राहुलले २१ बल खेल्नेक्रममा ३ चौका प्रहार गर्दै २५ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, अस्टोन टर्नरले ९ बलमा २ छक्का प्रहार गर्दै १६ रन जोडेर आउट हुँदा आयुष बदोनीले १२ बल खेल्नेक्रममा १ छक्का प्रहार गर्दै १५ रन जोडेर पेविलियन फर्किए ।
यता, निकोलास पुरनले ८ बलमा १ छक्का प्रहार गर्दै १० रन जोडेर आउट हुँदा इम्प्याक्ट प्लेयरका रुपमा मैदान आएका आर्शिन कुलकर्नी ९, युद्धविर सिंह ७, दिपक होडा र कुर्णाल पाण्डेया समान ५–५ र रवि बिस्नोई २ रनमा पेविलियन फर्किए ।
नविन उल हक भने शुन्य रनमा अविजित रहे ।
लखनउले अतिरिक्त रुपमा ७ रन जोड्यो ।
कोलकताका लागि हर्षित राणाले ३.१ ओभर बलिङ गर्दा २४ रन दिएर ३ विकेट लिँदा वरुण चक्रवर्तीले ३ ओभरमा ३० रन दिएर ३ विकेट लिए ।
त्यस्तै, एन्डज्ञे रस्सेलले २ ओभर बलिङ गर्दा १७ रन दिएर २ विकेट लिँदा मिट्चेल स्टार्क र सुनिल नारिनेले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै २३५ रन जोड्यो ।
कोलकताका लागि सुनिल नारिनेले ३९ बलमा ६ चौका र ७ छक्का प्रहार गर्दै सर्वाधिक ८१ रनको अर्धशतकिय पारी खेल्दा विकेटकिपर फिल साल्टले १४ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरेर ३२ रन जोड्दै पेविलियन फर्किए ।
त्यस्तै, अंगक्रिश रघुबंशीले २६ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३२ रन जोडेर आउट हुँदा रामदिप सिंहले ६ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २५ रन जोड्दै अविजित रहे ।
यता, कप्तान श्रेयस ऐयरले १५ बल खेल्नेक्रममा ३ चौका प्रहार गर्दै २३ रन जोडेर पेविलियन फर्किदा रिंकु सिंहले ११ बल खेल्दै २ चौका प्रहार गरेर १६ रन जोडेर आउट भए ।
एन्ड्रे रस्सेलले भने ८ बलको सामना गर्दा १ चौका र १ छक्का प्रहार गर्दै १२ रन जोड्दै आउट हुँदा भिनकतेस ऐयर १ रनमा अविजित रहे ।
कोलकताले अतिरिक्त रुपमा १३ रन जोड्यो ।
लखनउका लागि नविन उल हकले ४ ओभर बलिङ गर्दै ४९ रन खर्चिएर ३ विकेट लिँदा यश ठाकुर, रवि बिस्नोई र युद्धविर सिंहले समान १–१ विकेट लिए ।