
एजेन्सी । लिग लिडर इन्टर मिलानले इटालियन सिरी ए अन्तर्गत खेलमा एएस रोमामाथि जित हासिल गरेको छ ।
सनिवार राति भएको खेलमा उपाधि होडमा रहेको इन्टर मिलानले एएस रोमामाथि ४–२ को जित हासिल गरेको हो ।
रोमाको घरेलु मैदान ओलम्पिको रंगशालामा भएको खेलमा भ्रमणकारी टोलीको जितमा फ्रान्सेस्को एकर्बी, मार्कुस थुराम र एलेस्सान्ड्रो बास्टोनीले समान एक–एक गोल गर्दा एन्जेलिनोको तर्फबाट एक गोल आत्मघाती उपहार पायो ।
घरेलु टोलीका लागि भने जियानलुका मान्चिनी र स्टेफान इल शारावेले एक–एक गोल गरे ।
खेल सुरु भएको १७ औं मिनेटमा फ्रान्सेस्कोको गोलमा इन्टरले सुरुवाती अग्रता लियो ।
तर, २८ औं मिनेटमा रोमाका लागि लोरेन्जो पेलेग्रेनीको पासमा मान्चिनीले बराबरी गोल फर्काए ।
यता, ४४ औं मिनेटमा पेलेग्रेनीकै पासमा स्टेफानले गोल थप्दा घरेलु टोली पहिलो हाफसम्म २–१ ले अघि बढ्यो ।
त्यसपछि दोस्रो हाफको ४९ औं मिनेटमा माटेओ डर्मियनको पासमा थुरामले इन्टरका लागि गोल फर्काउँदा खेल २–२ को बराबरीमा आयो ।
रोमाञ्चक खेलको ५६ औं मिनेटमा रोमाका एन्जेलिनोले आत्मघाती गोल गर्न पुग्दा इन्टर खेलमा ३–२ ले अघि बढ्यो ।
खेलको अन्त्यतिर इन्जुरी समयको तेस्रो मिनेटमा मार्को अर्नाउटोभिकको असिस्टमा बास्टोनीले गोल थप्दा इन्टर ४–२ ले विजयी भयो ।
जितसंगै लिग लिडर इन्टरले २३ खेलमा ६० अंक जोड्दै शीर्ष स्थानमा अग्रता ७ अंकले फराकिलो पार्दै पारेको छ ।
पराजित रोमाको २४ खेलमा ३८ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ ।