
एजेन्सी । क्रिस्चियानो रोनाल्डोले ह्याट्रिक हान्दा अल नासेरले साउदी अरबियाली लिग साउदी प्रो लिगमा फराकिलो जित हासिल गरेको छ ।
सनिवार राति भएको खेलमा रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासेरले अल वेहदामाथि एकतर्फी रुपमा ६–० को फराकिलो जित हासिल गरेको हो ।
अल नासेरको घरेलु मैदान अल अवाल पार्क एट किंग साउद युनिभर्सिटी रंगशालामा भएको खेलमा रोनाल्डोका अलावा ओटाभियो, साडियो माने र मोहम्मेद अल फतिलले गोल गोल गरे ।
खेल सुरु भएको पाँचौं मिनेटमै रोनाल्डोले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलायो ।
त्यसपछि १२ औं मिनेटमा मार्सेलो ब्रोजोभिकको पासमा रोनाल्डोले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा अल नासेर २–० ले अघि बढ्यो ।
त्यसको चार मिनेटपछि नै १८ औं मिनेटमा मानेको पासमा ओटाभियोले गोल गर्दा अल नासेर ३–० ले अघि बढ्यो ।
पहिलो हाफको अन्त्यतिर ४५ औं मिनेटमा ओटाभियोको पासमा मानेले गोल गर्दा अल नासेर ४–० को फराकिलो अग्रतासहित अघि बढ्यो ।
यता, दोस्रो हाफको ५२ औं मिनेटमा मानेको पासमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा अल नासेर ५–० ले अघि बढ्यो ।
खेलको अन्त्यतिर ८८ औं मिनेटमा फातिलले गोल थप्दा अल नासेर ६–० ले विजयी भयो ।
फराकिलो जितसंगै अल नासेरले ३० खेलबाट ७४ अंक जोड्दै लिग तालिकामा दोस्रो स्थानमा कायम रहेको छ ।
पराजित अल वेहदाको समान ३० खेलबाट ३२ अंकसहित तालिकाको १२ औं स्थानमा रहेको छ ।