
एजेन्सी । साउदी अरबियाको शीर्ष लिग साउदी प्रोफेस्नल लिगअन्तर्गत खेलमा अल नासेरले अल ताइमाथि फराकिलो जित निकालेको छ ।
सनिवार राति भएको साउदी प्रो लिग खेलमा बलियो अल नासेरले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी अल ताइमाथि ५–१ को फराकिलो जित हासिल गरेको हो ।
अल नासेरको घरेलु मैदान अल अवाल पार्क एट किंग साउद युनिभर्सिटी रंगशालामा भएको खेलमा घरेलु टोलीको जितमा कप्तान क्रिस्चियानो रोनाल्डोले ह्याट्रिक गर्दा ओटाभियो र अब्दुलरहमान घरिबले समान एक–एक गोल गरे ।
पराजित टोलीका लागि भिर्गिल मिसिदजानले एक गोल फर्काए ।
खेलको २० औं मिनेटमा अरिबको असिस्टमा ओटाभियोले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
तर, त्यसको दुई मिनेटपछि नै भ्रमणकारी टोलीका लागि मिसिदजानले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
यता, ३६ औं मिनेटमा मिसिदजानले दोहोरो पँहेलो कार्ड खाँदै मैदानबाट बाहिरिदा खल टाइ १० खेलाडीमा समेतियो ।
पहिलो हाफको अन्त्यतिर साडियो मानेको पासमा घरिबले गोल गर्दै अल नासेरलाई २–१ ले अघि बढाए ।
दोस्रो हाफको ६४ औं मिनेटमा मानेको पासमा रोनाल्डोले गोल गर्दा अल नासेर ३–१ ले अघि बढ्यो ।
त्यसको तीन मिनेटपछि नै रोनाल्डोले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा घरेलु टोली ४–१ ले अघि बढ्यो ।
यता, खेलको अन्त्यतिर अब्दुलमाजिद अल सुलायहिमको पासमा रोनाल्डोले ह्याट्रिक गर्दा अल नासेर ५–१ ले विजयी भयो ।
फराकिलो जितसंगै अल नासेरले २५ खेलबाट ६९ अंक जोड्दै लिग तालिकाको दोस्रो स्थानमा कायम रहेको छ ।
पराजित अल ताइको समान २५ खेलमा २२ अंकसहित तालिकाको १६ औं स्थानमा रहेको छ ।