एजेन्सी । सर्वकालिन महान् खेलाडी क्रिस्चियानो रोनाल्डोको क्रीतिमानी युरो कप खेलमा पोर्चुगलले चेक रिपब्लिकमाथि पुनरागमन जित हासिल गरेको छ ।
मंगलवार राति भएको खेलमा क्रिस्चियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले चेक रिपब्लिकमाथि २–१ को पुनरागमन जित हासिल गरेको हो ।
जर्मनीको लाइपिजिङस्थित लाइपिजिङ रंगशालामा भएको खेलमा बलियो पोर्चुगलको जितमा युवा फरवार्ड फ्रान्सिस्को कोनसेइकाओले एक गोल गर्दा अर्को एक गोल रोबिन हर्नाकको आत्मघाती उपहार पायो ।
पराजित टोलीका लागि लुकास प्रोभोडले एक गोल गरे ।
पहिलो हाफ गोल रहित बराबरी सकिएको खेलमा दोस्रो हाफको ६२ औं मिनेटमा भ्लाडिमिर कौफुलको पासमा प्रोभोडले गोल गर्दै चेक रिपब्लिकलाई सनसनी १–० को अग्रता दिलाए ।
तर, ६९ औं मिनेटमा चेक रिपब्लिककै रोबिनले आत्मघाती गोल गर्न पुग्दा पोर्चुगल १–१ को बराबरीमा आयो ।
यता, ८६ औं मिनेटमा डिएगो जोटाको गोललाई भिएआरले मान्यता नदिँदा पोर्चुगल अग्रता लिनबाट बञ्चित बन्यो ।
बराबरी उन्मुख खेलमा इन्जुरी समयको दोस्रो मिनेटमा कोनसेइकाले गोल गर्दै पोर्चुगललाई २–१ ले जिताए ।
महत्वपूर्ण जितसंगै पोर्चुगलले समूह ‘एफ’ मा ३ अंक जोडेको छ ।
सोहि खेलमा रोनाल्डोले लगातार ६ संस्करण युरो कप खेल्ने नयाँ क्रीतिमान कायम गरेका छन् ।
यता, गयराति नै भएको समूह ‘एफ’ कै अर्को खेलमा टर्कीले जर्जियामाथि ३–१ को जित हात पार्यो ।
डर्टमण्डस्थित बिभिबि स्टाडिअन डर्टमण्ड रंगशालामा भएको खेलमा युरोमा डेब्यु खेल खेलिरहेको जर्जियालाई हराउन टर्कीका लागि मेर्ट मुलदुर, अर्डा गुलेर र केरेम अक्टुरकोग्लुले गोल गरे ।
जर्जियाका लागि जियोर्गेस मिकौटाड्जेले एक गोल फर्काए ।
प्रतिस्पर्धात्मक खेलको २५ औं मिनेटमा मुलदुरको गोलमार्फत् टर्कीले सुरुवाती अग्रता लियो ।
तर, ३२ औं मिनेटमा जर्जियाका लागि मिकौटाड्जेले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसपछि दोस्रो हाफको ६५ औं मिनेटमा गुलेरले गोल गर्दा टर्की २–१ ले अघि बढ्यो ।
खेलको अन्तिम समयतिर इन्जुरी समयको सातौ मिनेटमा अक्टुरकोग्लुले काउन्टर अट्याकमा गोल थप्दै टर्कीलाई ३–१ ले जित दिलाए ।
जितसंगै टर्कीले महत्वपूर्ण ३ अंक जोडेको छ ।