एजेन्सी । इजिप्टयन क्लब अल एहले स्पोर्टिङ क्लबलाई पराजित गर्दै स्पेनिस क्लब रियल मड्रिड फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
बुधवार राति भएको खेलमा अल एहलेलाई ४–१ ले पराजित गर्दै यूईएफए च्याम्पियन्स लिगका साविक विजेता रियल मड्रिड फाइनलमा प्रवेश गरेको हो ।
स्टेड प्रिन्स मौले अबदल्लाह रंगशालामा भएको खेलमा ४२ औं मिनेटमा भिनिसियस जुनियरको गोलमार्फत मड्रिडले खेलमा सुरुवाती अग्रता लिएको थियो । भिनिसियसको उक्त गोल रियल मड्रिडका लागि ५० औं गोल समेत रह्यो ।
यता खेलको ४६ औं मिनेटमा फेडरेको भालभार्डेले गोल गर्दा मड्रिड खेलमा २–० ले अघि बढ्यो । खेलको ६५ औं मिनेटमा अल एहलेले पेनाल्टी पायो । जसमा अली मालोउलले गोल गर्दै खेल २–१ मा ल्याए ।
९२ औं मिनेटमा रोड्रिगोले गोल गर्दा मड्रिड खेलमा ३–१ ले अघि बढ्यो । त्यसअघि ८७ औं मिनेटमा मड्रिडले पाएको पेनाल्टीमा लुका मोड्रिच चुकेका थिए ।
खेलको ९८ औं मिनेटमा भिनिसियस जुनियरको स्थानमा स्थानान्तरण भइ आएका सर्जियो अरिबासले गोद गर्दा मड्रिड ४–१ ले विजयी रह्यो ।
अब मड्रिडले फिफा क्लब विश्वकपको उपाधिका लागि साउदी अरबेली क्लब अल हिलालसंग खेल्नेछ ।