एजेन्सी । रियल बेटिसमाथि ट्राइब्रेकरमा जित हात पार्दै बार्सिलोना स्पेनिस सुपर कोपा डि इस्पानाको फाइनलमा प्रवेश गरेको छ ।
विहिवार राति भएको खेलमा उपाधि दाबेदार बार्सिलोनाले रियल बेटिसलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो ।
किंग फाहद रंगशालामा निर्धारित ९० तथा अतिरिक्त ३० मिनेटको खेल २–२ को बराबरीमा टुंगिएसंगै खेलको निर्णय ट्राइब्रेकरबाट गरेको थियो । जसमा बार्सिलोना ४–२ ले विजयी रह्यो ।
पेनाल्टी सुटआउटमा बार्सिलोनाका लागि रोर्बटो लेवान्डोस्की, फ्याङ्क केइस्सेइ, आसु फाती र पेड्रीले गोल गरेका थिए । यता, रियल बेटिसका लागि विलियन जोसे र लोरेन मोरनले गोल गर्दा जौनामी र विलियम कार्भाल्लोको प्रहार चुकेको थियो ।
त्यसअघि खेलको ४० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई खेलमा सुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफ १–० ले अघि रहेको बासिलोनाले ७७ औं मिनेटमा गोल खाएको थियो । नबिल फेकिरले गोल गर्दा बेटिस खेलमा फर्किएको थियो ।
खेलको ८१ औं मिनेटमा लेवान्डोस्कीले गोल गरेतापनि भिएआरले मान्यता नदिँदा निर्धारित ९० मिनेटको खेल १–१ को बराबरी सकियो ।
त्यसपछि खेल अतिरिक्त ३० मिनेट लम्बिएको थियो । ९३ औं मिनेटमा युवा फरवार्ड फातीले गोल गर्दै बार्सिलोनालाई पुनः खेलमा २–१ ले अघि बढायो ।
तर, १०१ औं मिनेटमा मोरोनको गोलमार्फत रियल बेटिस २–२ को बराबरीमा आयो । त्यसपछि थप गोल निस्किएन र खेलको निर्णय ट्राइब्रेकरबाट भयो ।
सुपर कोपाको फाइनल खेलमा बार्सिलोनाले चिरपरिचित प्रतिद्वन्दी रियल मड्रिडको सामना गर्ने भएको छ ।