भक्तपुर । बंगलादेशको ढाकामा पुसको पहिलो सातादेखि आयोजना हुने २३ वर्षमूनीको काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप २०२२ मा नेपाली यू–२३ टोली सहभागी हुने भएको छ ।

च्याम्पियनसिपका लागि नेपालले १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ ।

काठमाडौंको त्रिपूरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा लगभग एक महिनाको बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट अन्तिम १४ खेलाडी छनोट गरिएको हो ।

अन्तिम टोलीमा छनोट भएका खेलाडीहरु धिरज कुमार बस्नेत, भिमराज गुरुङ, रबि केसी, अर्जुन नेपाली, सन्तोष खत्री, रुप बहादुर गुरो, विष्णु बस्नेत, सन्तोष महतो, सफल विक, मनिस मानन्धर, हेमन्त मल्ल, वेद प्रकाश जोशी, गौरव पाण्डे र सम्राट भण्डारी रहेका छन् ।

नेपाली टोलीका मूख्य प्रशिक्षकका रुपमा जगदिश प्रसाद भट्ट रहेका छन् साथै प्रशिक्षकमा भरत यादव रहेका छन् । टोलीसँग राखेपअन्तर्गत भलिबलका मुख्य प्रशिक्षक प्रज्वल बहादुर सिंह पनि हुनेछन् ।

राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा नेपालले उद्घाटन खेलमा आयोजक बंगलादेशसँग खेल्नेछ । यो खेल पुस ७ गते हुनेछ ।

त्यस्तै, दोस्रो खेल पुस ८ गते श्रीलंकासँग तथा तेस्रो पुस ९ गते किर्गिस्तानसँग नेपालले खेल्नेछ ।

सेमिफाइनल पुस १० गते हुनेछ भने फाइनल पुस ११ गते हुने तालिका रहेको छ ।

चार राष्ट्रको मात्रै सहभागिता रहने प्रतियोगितामा चारै टोली सेमिफाइनल पुग्ने समिकरण छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.