भक्तपुर । काठमाडौंमा जारी १९ वर्षमूनीको वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशमाथि ६ विकेटको जित हात पारेको छ ।
कर्णालीले दिएको १ सय १ रनको विजयी लक्ष्य लुम्बिनीले २०।५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
लुम्बिनीका लागि आकाश त्रिपाठीले अविजित रहँदै ५२ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, कप्तान विशाल केसीले १३ रनको योगदान दिँदा प्रज्वल थापाले १० रन बनाए ।
कर्णालीका लागि अनुज चनाराले २ विकेट हात पार्दा सन्दीप शाही र मोहन बिकले समान १–१ विकेट लिए ।
त्यसअघि पहिला ब्याटिङमा उत्रिएको कर्णालीले २२।२ ओभर खेल्दै मात्र १०० रन जोडेर अलआउट भएको थियो ।
कर्णालीका लागि कप्तान विपिन रावलले सर्वाधिक ३६ रनको योगदान गरे । यस्तै, सुवास एयरले २३ रन जोडे ।
लुम्बिनीका विशाल बिक्रम केसीले ४ विकेट लिँदा अभिषेक गौतमले २ विकेट लिए ।
खेलको म्यान आफ द म्याच लुम्बिनीका विशाल विक्रम केसी घोषित भए । जितसँगै लुम्बिनीले २ खेलमा २ अंक जोडेको छ ।