
भक्तपुर । काठमाडौंमा जारी १९ वर्षमूनीको वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले मधेश प्रदेशमाथि १५२ रनको जित हात पारेको छ । यो जितसंगै जारी प्रतियोगितामा बागमतीले लगातार तेस्रो जित हात पार्यो ।
काठमाडौंस्थित मुलपानी क्रिकेट मैदान भएको खेलमा बागमतीले मधेससमक्ष २१८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफी ब्याटिङमा आएको मधेसले २५.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र ६५ रन जोड्न सक्यो ।
मधेसका लागि कप्तान अभिषेक तिवारीले सर्वाधिक १८ रनको योगदान गरे । त्यस्तै, मयन यादवले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बागमतीका लागि अहम्मद राजाले सर्वाधि ५ विकेट लिँदा अभिषेक कोईरालाले ३ विकेट लिए । त्यस्तै, प्रतिक श्रेष्ठ र सक्रिय कार्कीले समान १–१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको बागमतीले ४७.३ ओभर खेल्दै २ सय १७ रन बनाएको थियो ।
बागमतीका लागि उत्तम मगर र योगेश भाटले अर्धशतकीय पारी खेले । उत्तमले सर्वाधिक ७१ रनको योगदान दिँदा योगेशले ५९ रन जोडेका थिए । त्यस्तै, प्रतिक श्रेष्ठले ३० रन बनाउदा रोशन विकले १४ रनको योगदान दिएका थिए ।
मधेशका लागि राजेश यादवले ४ विकेट हात पार्दा अविजित मण्डलले ३ विकेट लिएका थिए । त्यस्तै, रन्जित कुमारले २ विकेट आफ्नो नाममा पार्दा कप्तानसमेत रहेका अभिषेक तिवारीले १ विकेट लिएका थिए ।
जितसंगै बागमती ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा कायम रहेको छ । पराजित मधेसले भने अंक जोड्न सकेको छैन ।